१३ कार्तिक, काठमाण्डौँ । अब नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने भएको छ । सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै नागरिक एपले यो सेवा देशैभर लागू भएको जानकारी दिएको हो ।
योसँगै ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्य हुने भएको हो ।
सरकारले सम्पूर्ण सरकारी सेवालाई एकै ठाउँमा समेट्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको नागरिक एपबाट देखाएको डिजिटल लाइसेन्स किन मान्य हुँदैन भन्ने विषयमा बारम्बार प्रश्न उठिरहेको थियो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३१ बमोजिम यातायात निरीक्षक वा नेपाल प्रहरीले जाँचबुझको सिलसिलामा कुनै सवारी चालकको सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताब सवारी इजाजतपत्र हेर्न खोजेमा देखाउनुपर्ने व्यवस्था रहेकाले भौतिक लाइसेन्स नै देखाउनुपर्ने ट्राफिक प्रहरीको तर्क थियो ।
अब भने नागरिक एप र ट्राफिक प्रहरीबीच समन्वय भएसँगै सवारी चालकले मोबाइलबाटै लाइसेन्स देखाउन सक्ने बताईएको छ ।