१२ कार्तिक, काठमाण्डौँ । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दैछन् । उनी दिउँसो पोखरा जाने कार्यक्रम छ ।
मौसम अनुकूलताअनुसार उनी नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ ।
त्यसपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा यहाँको टोलीसँग बैठक गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र सङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी हुन्छ् ।
महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे यहाँ आइपुगेका थिए । उनले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।