२१ असोज, काठमाण्डौँ । सल्यानमा बुहारीले सासूको हत्यापछि शव धानको भकारीमा लुकाएको तथ्य खुलेको छ । शिद्धकुमाख गाउँपालिका–४ खार्बनकी ४९ वर्षीया गणेशी रोकाको शव असोज १७ गते घरभित्रै धान राख्ने काठको भकारीमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको थियो ।
असोज १५ गतेदेखि बेपत्ता भनिएकी गणेशीको हत्या उनकै कान्छी बुहारी १८ वर्षीया शर्मिला बुढाथोकीले गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बताए ।
सामान्य भनाभनको विषयलाई लिएर बुहारी शर्मिलाले घरमा कोही नभएको मौका छोपी सासू गणेशीको दाउराले टाउकोमा हानी लडाएपछि सलले घाँटी थिचेर हत्या गरी जोगिन धानको भकारीभित्र शव लुकाएर राखेको तथ्य खुलेको डिएसपी कार्कीले जानकारी दिए ।
घटना अनुसन्धानमा संलग्न जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठका अनुसार असोज १५ गते बिहान शर्मिला र उनकी सासू गणेशीबीच धान माड्न खेतमा गएका बखत सामान्य भनाभन भएको थियो ।