१८ असेज, धनुषा । उत्तेजित अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा पक्राउ परेका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा उनीविरुद्ध बुधबार मुद्दा दर्ता भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका-चक्रघट्टीबाट सुन्सरी प्रहरीले पक्राउ गरेको थियो । बुधबार साँझ उनलाई कारबाहीको लागि धनुषा ल्याइएको थियो ।
असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रमममा हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभियोगमा उनीमाथि मुद्दा चलाइएको हो । जनकपुरधाममै हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको भन्दै कारबाहीको लागि ल्याइएको प्रहरीले जनाएको छ ।
यसअघि २०७४ चैत २५ मा आफ्नै पाखुरामा गोली हान्न लगाएको आरोपमा समेत उनी पक्राउ परेका थिए । श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको डीएसपी अवाको भनाइ छ ।