बालेनलाई जथाभावी वक्तव्यबाजी नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंकोे अनुरोध

बालेनलाई जथाभावी वक्तव्यबाजी नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंकोे अनुरोध


१८ भाद्र, काठमाण्डौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नर्पुयाउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो ।

चालकसँग सवारी पास नभएकाले अबदेखि सवारी पास बोकेर हिंड्नू भन्दै ट्राफिक प्रहरीले छाडिदिएका थिए । श्रीमती चढेको गाडीलाई केरकार गरेको भन्दै आक्रोशित भएका बालेनले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई समेत फोन गरेर आक्रोश पोखेका थिए । लगत्तै उनले सिंहदरबारमा आगो लगाइदिने भन्दै धम्कीपूर्ण स्टाटस सामाजिक सञ्जालमा राखेका थिए । उनले उक्त स्टाटस भने अहिले फेसबुकबाट हटाइसकेका छन् ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बालेनको धम्कीको चर्काे आलोचना भएपछि आइतबार बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै चेकिङको नाममा सुरक्षाकर्मीबाट अभद्र व्यवहार भएको आरोप लगाएको थियो ।

सोमबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन र जथाभावी वक्तव्यबाजी नगर्न भनेको छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक विदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नुपर्ने नियम समेत सम्झाएको छ ।

लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेको भन्दै प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर