८ भाद्र, झापा । झापाका दुई स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु मध्ये ९२ जनालाई जग्गाधनी प्रमाण पुर्जा बितरण गरिएको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति झापाले गौरादह नगरपालिका–४ महारानी झोडाका ५० परिवार र बुद्धशान्ति गाउँपालिका–२ का ४२ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको आयोगका प्रमुख तिलक पाण्डेले जानकारी दिनुभयो । कनकाई नगरपालिका वडा नं. ८ कल्टुबारीका २३ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरणको निर्णय भइसकेको पाण्डेको भनाइ छ ।
त्यस्तै बुद्धशान्ति गाउँपालिकाको वडा नं. २, ४ र ७ मा जग्गा प्रमाण पुर्जा बितरणको काम अन्तिम चरणमा पुगेको र अर्जुनधाराको वडा नं. १ र ११ मा नाप नक्साको काम सकिएको पाण्डेले जानकारी दिनुभयो । कनकाई नगरपालिकामा तीन सय परिवारलाई जग्गा दर्ता प्रमाण पुर्जा बितरणको तयारी थालिएको र पालिकाले निर्णय गरेर आयोगलाई सिफारिस गरेलगत्तै कनकाईका तीन सय परिवारको समेत जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने आयोगका प्रमुख पाण्डेले बताउनुभयो ।
यता शिवसताक्षी नगरपालिकामा दुई सय ६३ वटा जग्गा धनी पुर्जा बितरणका लागि कार्य अगाडि बढाइएको छ । विगतका आयोग, समिति र कार्यदलले सिफारिस गरेकामध्ये शिवसताक्षी नगरपालिकामा दुई सय ३६ वटा पुर्जा वितरणको तयारी गरिएको पाण्डेको भनाइ छ ।
कमल गाउँपालिका–५ सिम्लेमा पाँच सय ७६ कित्ताको नापनक्सा भइरहेको बताइएको छ । यो गाउँपालिकामा ६ र ७ नम्बर वडामा सबैभन्दा धेरै भूमिहीनहरुको बसोबास रहेको बताइन्छ । गौरादह नगरपालिकाको वडा नं. ४ महारानीझोडामा थप दुई सय जना र दमक नगरपालिकामा समेत जग्गा दर्ता प्रमाण पुर्जा वितरणको कामलाई तीव्र रुपमा अघि बढाइएको आयोगले जनाएको छ ।