११ जेष्ठ, काठमाण्डौँ । केही दिनअघि गहुँ निर्यातमा रोक लगाएको भारतले चिनी निर्यातमा रोक लगाएको छ । आउँदो जेठ १८ गतेदेखि लागू हुने गरी भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।
भारतले चिनीसँगै चिनी उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थको समेत निर्यातमा रोक लगाउने भएको हो । रुस र युक्रेनको युद्ध सुरु भएपछि विश्वको आपूर्ति अवस्थामा नै समस्या आएको छ । त्यसको असर कम गर्न भन्दै भारतले आफ्नो देशमा उत्पादन हुने वस्तुको निर्यातमा रोक लगाउन थालेको हो ।
भारतले फलाम उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा समेत कर बढाएको थियो । नेपालमा भारतबाट गहुँ आयात नहुँदा मैदा मिल नै बन्द हुने अवस्था आएको मिल सञ्चालकहरूले बताउने गरेका छन् । स्पन्ज आइरनको कर वृद्धि गर्दा नेपालमा फलामे डन्डीको समेत मूल्य वृद्धि हुने छ ।
चालू आर्थिक वर्षमा मात्रै ३ लाख मेट्रिक टनभन्दा धेरै चिनी नेपालमा नै उत्पादन भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ४ अर्ब ८३ करोडको चिनी विदेशबाट आयात भएको छ ।