
४ भाद्र, काठमाण्डौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरीसंग भेटघाट गर्नुभएको छ । भेटका क्रममा निधिले गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
गिरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपसभापति निधिले जनाउनुभएको छ । ‘उहाँको घाँटीको देब्रेपट्टिको नलीमा सानो ट्युमर देखिएको छ । ट्युमरबारे सम्पूर्ण रिपोर्ट आइसकेको छैन । अहिले उहाँ सामान्य हुनुहुन्छ र स्वास्थ्यमा खतरा छैन’, निधिले भन्नुभएको छ । भेटका क्रममा गिरीले आफूले नियमित स्वास्थ्य परीक्षण गराइरहेको र अहिले घाँटीको ट्युमरमा केन्द्रीत रहेर फलो अप गरिरहेको जनाउनुभएको थियो ।
गिरीको मुम्बईस्थित हिन्दुजा अस्पतालमा डा.सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरिरहेको छ ।
भेटमा प्रदेश–२ का ऊर्जामन्त्री ओमप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे लगायत उपस्थित थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७