निर्वाचन गराउन साइपाल लागे कर्मचारी, तीन दिनसम्म पैदल यात्रा

निर्वाचन गराउन साइपाल लागे कर्मचारी, तीन दिनसम्म पैदल यात्रा

बझाङ । दुर्गम हिमाली जिल्ला बझाङको साइपाल गाउँपालिका अन्तर्गतका मतदान केन्द्रमा निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मी निर्वाचन सामग्री बोकेर तीन दिनसम्म पैदल हिँड्दै कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार शनिबार साइपालका तीन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीले सदरमुकाम चैनपुरबाट निर्वाचन सामग्री बुझेर यात्रा सुरु गरेका हुन्। मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले दुर्गम भौगोलिक अवस्थाका कारण सम्बन्धित मतदान केन्द्रसम्म पुग्न तीन दिनसम्म पैदल यात्रा गर्नुपर्ने भएकाले टोलीलाई समयमै पठाइएको जानकारी दिए।

साइपाल–१ स्थित धलौनमा टोलीले शनिबार बास बसेको छ। एराङकुरी डाँडा मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी प्रदीप खड्काले धलौन पुगिसकेको जानकारी दिँदै अन्य दुई केन्द्रका कर्मचारी पनि आइतबारसम्म पुग्ने अपेक्षा गरिएको बताए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार काँडा माध्यमिक विद्यालय काँडा मतदान केन्द्रका मतदान अधिकृत दीपकराज जोशी, धुली माध्यमिक विद्यालय धुली मतदान केन्द्रका खगेन्द्र चन्द र सामुदायिक भवन एराङकुरी डाँडा मतदान केन्द्रका दिनेश प्रसाद पण्डित आफ्ना सहायक मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीसहित कार्यक्षेत्रतर्फ गएका छन्।

यसैबीच, साइपाल–१ धलौन माध्यमिक विद्यालय धलौन वरिपरि मतदान केन्द्र र साइपाल–२ धलौन माध्यमिक विद्यालय धलौन मतदान केन्द्रमा खटिने कर्मचारी भने आइतबार प्रस्थान गर्ने तयारीमा छन्।

जिल्लामा निर्वाचनका लागि दुई अस्थायी र १८९ स्थायी मतदान केन्द्र तोकिएका छन् भने १३७ मतदानस्थल निर्धारण गरिएको छ। तीमध्ये तीन सामान्य, ४९ संवेदनशील र ८५ अति संवेदनशील श्रेणीमा राखिएका छन्। जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गरिने निर्वाचन कार्यालयले जनाएको छ।

दुर्गम भूगोल, कठिन पहाडी बाटो र सीमित यातायात सुविधाका कारण साइपाल क्षेत्रमा निर्वाचन सामग्री ढुवानी तथा जनशक्ति परिचालन चुनौतीपूर्ण हुने गरेको छ। तथापि, निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाएको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर