पर्यटनमा जोडिँदै दुई सय वर्षअघिको निसान पदमार्ग

पर्यटनमा जोडिँदै दुई सय वर्षअघिको निसान पदमार्ग

इलाम । दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै इलाममा निसान (विशेष किसिमको झन्डा) पदयात्रा पुस २३ (बुधबार) सुरु हुँदैछ । वीरतापूर्ण इतिहासपछिको सन्धिलाई स्मरण गर्दै भारतीय सीमाबाट इलाम सदरमुकामसम्म पदयात्रा गरिने भएको हो ।

पुस २६ मा सदरमुकाम आएर पदयात्रा समापन गरिनेछ । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान जुन बाटो भएर फर्काइएको थियो, त्यही बाटो संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न करिब १ सय ५५ जनाले पदयात्रा गर्ने अनुमान छ । बुधबार नेपाल–भारत सीमा छब्बिसेस्थित मेची बजारबाट सुरु गरिने पदयात्रा ४१.१ किलोमिटरको हुनेछ ।

इलाम नगरपालिका, सूर्याेदय नगरपालिका, माइजोगमाई गाउँपालिका, पर्यटन कार्यालय काँकडभिट्टा र नेपाली सेनाको इलामस्थित रणशार्दूल गणले पदयात्राको आयोजना र व्यवस्थापन गरेका हुन् ।

नेपाली फौजको तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर नागरीगढी (अहिले भारत)मा गाडेका निसान सुगौली सन्धीपछि फर्काएर अहिलेको इलाम सदरमुकाम ल्याइएको थियो । त्यहाँबाट करफोकको पूर्णेडाँडा–नामसालिङको हात्तीटार हुँदै अहिलेको सदरमुकामम्म ल्याइएको इतिहास छ ।

त्यसैअनुसार, मेचीबजारमा बुधबार बिहान पदयात्रा उद्घाटनसत्र आयोजना गरिएको सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए । त्यस अवसरमा यी तीनै पालिकाका प्रमुख, उपप्रमुख, सिडिओ, नेपाली सेनाको रणशार्दूल गणका गणपति, जिल्ला प्रहरी प्रमुखलगायत इलाम र बाहिरी जिल्लाका पदयात्रीसमेत सहभागी हुनेछन् ।

श्रीनाथ पल्टनले त्यसबेला प्रयोग गरेकै कालो पोसाकका नेपाली सैनिक सांकेतिक रूपमा निसान, खुँडा, ढाल, तरबारलगायत बोकेर पदयात्रा गर्नेछन् । नौमती बाजा र विभिन्न भाँकीसमेत प्रदर्शन गरिने आयोजकले जनाएका छन् ।

गतवर्ष पनि यसरी पदयात्रा आयोजना गरिएको थियो । यो वर्ष पदयात्रासँगै करफोकमा यही इतिहासलाई समेटेर हाजिरीजबाफ प्रतियोगितासमेत सञ्चालन गरिनेछ । सूर्याेदय नगरपालिका ९, बरबोटेमा पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको सूर्याेदय नगरपालिकाका इन्जिनियर श्रीजन गदालले जानकारी दिए ।

पदयात्रीलाई स्वागत गर्न स्थानीयले ठाउँ–ठाउँमा घडा, कलशलगायत राख्ने तयारी गरेका छन् । निसान पदमार्गले इलाममा मुख्य बसोबास रहेको आदिवासी लोपोन्मुख लेप्चा र लिम्बू जातिको पुरानो थातथलोको इतिहास झल्काउने, नेपालको पुरातात्त्विक सम्पदाबारे नयाँ पिँढीलाई जानकारी दिने इतिहासकार युद्धप्रसाद वैद्य बताउँछन् ।

मेची बजारबाट २४ गते यो पदयात्रा करफोकको पूर्णेडाँडा आइपुग्नेछ । त्यहाँ कार्यक्रम सम्पन्न भएपछि २५ गते नामसालिङको हात्तीटार आइपुग्ने माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताए । २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माइबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम बजारस्थित माइस्थानमा आउनेछ । इलाम बजार परिक्रमा गरी औपचारिक समापन गरिने छ ।

नेपाल एकीकरण गर्दैजाँदा पूर्वमा टिस्टा नदीसम्म पुगेको नेपालको सीमा सुगौली सन्धिपछि अहिलेको विन्दु (मेची नदी) कायम भएको इतिहास छ । नेपाल एकीकरण गर्दैजाँदा नेपाली सेनाको तत्कालीन श्रीनाथ पल्टनले पुरानो सीमाविन्दु नागरीगढीमा गाढेको निसान सुगौली सन्धिपछि १८७५ सालमा इलाम ल्याइएको थियो ।

नागरीगढीबाट इलाम बजार ल्याइएको निसान र तोप इलामको माइस्थान मन्दिरमा नेपाली सेनाको निगरानीमा राखिएको थियो । सशस्त्र द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै नेपाली सेनाले यहाँको निसान र तोप काठमाडौं स्थानान्तरण गरेको थियो । तर, इलामबासी, पर्यटनकर्मी र इतिहासकारलगायतको निरन्तर दबाबपछि २०७४ सालमा निसान र २०७९ सालमा तोप माइस्थान मन्दिरमै ल्याएर पुनस्र्थापित छ ।

इलाम नगरका मेयर थापाले पदयात्राका माध्यमबाट पर्यटक आकर्षित गर्न यो कार्यक्रम तय गरिएको बताए । यो सम्झौताको ऐतिहासिक महत्त्व दर्साउँदै पर्यटन प्रवर्धन गर्नु जरुरी रहेको उनको भनाइ छ ।

ऐतिहासिक निसान ल्याएको र जिल्ला सदरमुकाम स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा २०७५ सालमा इलाम नगरले महोत्सवसमेत आयोजना गरेको थियो । नेपाल–अंग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गरेको थियो । मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ पल्टन अहिले इलामको सूर्याेदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बस्यो । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो ।

इलामको यही इतिहासबारे सबैलाई जानकारी गराउन जरुरी रहेको इतिहासकार वैद्य बताउँछन् । ‘यो विषय नेपालको इतिहासमा समेत लेखिएको छैन,’ इतिहासकार वैद्य भन्छन्, ‘इलाम नेपालमा गाभिनु पृथ्वीनारायण शाहको राज्य एकीकरणको सुरुआत थियो । सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम सारेर करफोक ल्याएका हुन् । पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अंग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा यो पल्टन इलामको माइस्थान ल्याइएको थियो ।’ निसान रहेको माइस्थान मन्दिर १८८० सालमा स्थापना भएको अनुमान छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर