
इलाम । इलामको रोङ गाउँपालिका ६ स्थित चर्चित पर्यटकीयस्थल झन्डीडाँडा जाने फास्ट ट्र्याक धजे–मनकामना सडक सञ्चालनमा आएको छ ।
पुस १२ मा यो सडक औपचारिक उद्घाटन गरिँदैछ । यहाँ शुक्रबार झापाबाट बससमेत आएको छ । बस आउँदा स्थानीय हर्षित भएका छन् ।
वडाध्यक्ष सत्यम राई चौरासेलगायतले बस ल्याउने चालकलाई माला लगाएर स्वागतसमेत गरेका छन् ।
बहुप्रतीक्षित यो सडकमा यातायात सञ्चालनमा आएपछि पर्यटक र स्थानीयलाई सहज भएको छ । नजिकैको ढोडेनी जंगलबाट घाँस–दाउरा बोक्नसमेत सुरक्षित भएको छ ।
यस सडकबाट अब रोङ गाउँपालिका–६ स्थित रम्भ्याङ क्षेत्रका काँक्रा, साग र इस्कुसलगायत कृषिजन्य उत्पादन बजार लैजान र उपभोग्य सामग्री आयात गर्नसमेत सजिलो भएको स्थानीयले बताएका छन् । गाउँबाट शिक्षा, स्वास्थ्यका लागि पूर्वको प्रमुख सहर बिर्तामोड जानसमेत छिटो र सहज भएको छ ।
यसबाट रम्भ्याङलगायत जौबारी, जिर्मले, कुवापानी क्षेत्रसमेतको आवागमन सहज भइ धुलाबारी, बिर्तामोड, चन्द्रगढीजस्ता झापाका सहर पुग्ने नयाँ सञ्जाल तयार भएको हो ।
यो सडकले धजेबाट ५ मिनेटमा वडा कार्यालय र छोटो दूरीमा झापा पहुँच पुगेको छ । धजे–मनकामना, झरेसी, निन्दा, सेङलेङ्टार, शान्तिनगर सबैतिर जान सकिने भएकाले यो सडक सञ्जाल बहुआयामिक पनि भएको उक्त सडक निर्माण समिति अध्यक्ष निमाकुमार राईले बताए ।
‘धजेबाट धुलाबारी पुगेपछि त काँकरभिटा गएपनि भयो, सीधै चन्द्रगढी गएपनि भयो, बिर्तामोड गएपनि भयो,’ उनले भने ।
सडक निर्माणका लागि संघीय सरकार, सडक विभागबाट वैकल्पिक सहायक राजमार्ग शीर्षकमा आर्थिक वर्ष २०८१र८२ मा ३ करोड ५० लाख, आव ०८०र८१ मा १ करोड, आव ७९र८० मा ५० लाख र प्रदेश सरकारबाट आव ०७८र७९ मा २५ लाख रुपैयाँ लगानी भएको स्थानीय युवा नेता रञ्जित राईले जानकारी दिए ।
सडक सञ्जाल थप विस्तार गर्नसके तारगाउँ र गोरखसम्मलाई झापा द्रुतमार्ग छिटो पर्नेछ । काँकरभिट्टा, चन्द्रगढी, बिर्तामोडसम्म पुग्न सहज हुने देखिन्छ ।
‘पूरै ग्राबेल हुने हो भने त धजे, मनकामना वडा कार्यालय पनि ५ मिनेटमा पुगिने रहेछ । विकासले दूरी घटाउने रहेछ,’ स्थानीय बिनराज राईले भने, ‘पहिले सडक बनाउँदा विरोध गर्नेहरूको मुख बन्द भएकाले खुसी लागेको छ ।’
यो सडक बहुआयामिक महत्त्वको छ । रम्भ्याङभन्दा धेरै जिर्मले, जौबारी र कुवापनीका लागि बढी महत्त्वको रहेको स्थानीय बताउँछन् । ‘यसलाई आधार बनाएर चौतर्फी नसाजस्तो सडक सञ्जाल बनाए नमुना गाउँ बन्नसक्छ,’ अर्का युवा नेता ध्रुव राईले भने ।
धजे, जौबारी, जिर्मले, कुवापानी चोक–चोकमा गाडी स्टप र काउन्टर व्यवस्था गर्न जरुरी देखिएको र दुवै रुटले गाउँबस्ती पनि राम्रो छोएको स्थानीयले जनाएका छन् ।
‘यो सडक केवल भौतिक संरचनामात्र होइन, जनजीविका उकास्ने, स्थानीय उत्पादनलाई बजारमा जोड्ने, स्थानीय सरकारसँग छिटो र द्रुत रूपमा सेवा लिन सहज हुने माध्यम पनि हो,’ स्थानीय निरज दर्नालले भने, ‘सबै समुदायलाई समान अवसर दिलाउने जीवनरेखा हो । भूगोल जोड्ने यो सडकले आपसी सहयोग, सामाजिक मेलमिलाप र सामुदायिक अपनत्वलाई बलियो बनाउने आशा छ । यो सडक हामी सबै समुदायको समृद्धि, पहिचान र सँगसँगै अघि बढ्ने भावना बोकेको महत्त्वपूर्ण पूर्वाधार पनि हो ।’
यो सडक भएर धजे–धुलाबारी ३० किलोमिटर छ । धजे–चन्द्रगढी र धजे–बिर्तामोड–४० किमीमात्र भएकाले हवाइ यातायात, खाद्यान्न ढुवानी, कृषि बजार सहज भएको छ ।
स्थानीय अगुवा देवी साङपाङ यहाँबाट सडक निस्किनेमा सुरु–सुरुमा कसैलाई विश्वास नभएपनि अहिले नभत्किनेखालको सडक बनेको बताउँछन् । अर्का स्थानीय जीवन राई झन्डीडाँडाको पर्यटन प्रवद्र्धनमा यो सडकले ठूलो सहयोग पुगेको सुनाउँछन् ।
यो सडकले वडाबासीमात्र नभई नजिकमा पालिकालाई समेत सहज हुने वडाध्यक्ष चौरासेले बताए । उनले भने, ‘अब यो सडक पुस १२ मा औपचारिक उद्घाटन गर्दैछौं,’ धेरैलाई सुविधा हुने सडक हो यो ।’


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७