संविधान दिवसः संवैधानिक सर्वोच्चताको रक्षा र नयाँ पुस्ताप्रतिको अपेक्षा

संविधान दिवसः संवैधानिक सर्वोच्चताको रक्षा र नयाँ पुस्ताप्रतिको अपेक्षा

२ असोज । नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ यात्रामा प्रवेश गर्यो । यो ऐतिहासिक दिन नेपाली जनताको दशकौं लामो संघर्ष, क्रान्ति र बलिदानको प्रतिफल हो । त्यसैले भोली असोज ३ गते मुलुकको ऐतिहासिक दिनलाई संविधान दिवसका रूपमा मनाइँदैछ । संविधानले नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको मार्गचित्र कोरेको छ । त्यसैले संविधान दिवस केवल औपचारिक उत्सव होइन, संवैधानिक सर्वाेच्चता जोगाउने दृढ संकल्पको दिन हो ।

तर वर्तमान राजनीतिक परिस्थिति उत्साहजनक छैन । दलगत स्वार्थ, अस्थिर सत्ता समीकरण, आन्तरिक कलह र विदेशी शक्तिहरूको प्रभावले संविधानको सर्वोच्चता माथी प्रहार भईरहेको छ । प्रमुख दलहरू — नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलहरूले संविधानको रक्षा गर्न, विदेशी चलखेल रोक्न र संवैधानिक सर्वाेच्चता कायम राख्न असफल भए मुलुक पुनः अस्थिरताको दलदलमा फस्ने खतरा छ । संविधान कमजोर पार्ने प्रवृत्तिले नेपाललाई विदेशी स्वार्थको अखडामा परिणत गर्ने संभावना अझ प्रबल छ ।

यस्तो संवेदनशील समयमा नेपालको नयाँ पुस्ता, विशेषतः जेन्जी आन्दोलन, परिवर्तनको स्वरुपमा उभिएको छ । उनीहरूले भ्रष्टाचारविरुद्धको अन्दोलनलाई चरम उत्सकर्षमा पुर्याएका छन् । पोखरीको जमेको पानी जस्तो तिन नेता (देउवा, ओली र प्रचण्ड)मा मात्र सिमित रहेको नेपाली सत्ता राजनितीलाई नयाँ कोर्षमा पुर्याएका छन् तर संवैधानिक सर्वाेच्चताको विषयमा भने आन्दोलनका अगुवा अलमलमा परेको देखिन्छ । संविधानलाई स्पष्ट र दृढ समर्थन गर्न अलमल परेको अवस्था निराशाजनक हो । किनकि संविधान नै लोकतन्त्रको मेरुदण्ड हो, संविधान नै भ्रष्टाचारविरुद्धको संघर्षको कानूनी आधार हो, र संविधान नै राष्ट्रिय सार्वभौमिकताको ग्यारेन्टी हो ।

आजको आवश्यकता भनेकै अलमलमा नपरी, संविधानकै पक्षमा दृढतापूर्वक उभिनु हो । यदि संविधान कमजोर पारियो वा च्यातियो भने नेपाल विदेशी हस्तक्षेप र स्वार्थी चलखेलको खेलमैदान बन्नेछ । त्यसैले जेन्जी आन्दोलनले भ्रष्टाचारविरोधी अभियान संगै संवैधानिक सर्वाेच्चतालाई पनि आफ्नो संघर्षको मूल मन्त्र बनाउनुपर्छ । यसमा सबै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवी वर्गको ऐक्यबद्धता अपरिहार्य छ ।

संविधान दिवसको औचित्य यही चेतना र प्रतिबद्धतालाई बलियो बनाउनमा छ । यस अवसरमा दलहरूले संविधानको मर्मलाई व्यवहारमै उतार्ने, विदेशी हस्तक्षेपलाई अस्वीकार गर्ने, र युवा पुस्ताको आवाजलाई सम्बोधन गर्ने प्रतिज्ञा गर्न जरुरी छ । संविधानको सर्वाेच्चताप्रति इमानदारी देखाउन सके मात्रै लोकतन्त्रप्रति जनताको विश्वास बढ्नेछ ।

अन्ततः, असोज ३ ले हामीलाई सम्झाउँछ — संविधान केवल कानूनी दस्तावेज होइन, यो हाम्रो पहिचान, भविष्य र सार्वभौमिकताको ग्यारेन्टी हो । यदि राजनीतिक दलहरू र सम्पूर्ण नेतृत्वले यसको रक्षा गरेनन् भने देशले ठूलो मूल्य चुकाउनु पर्नेछ । आजको पुस्ताले दिएको चेतावनीलाई गम्भीरतापूर्वक आत्मसात गर्दै संविधान दिवसलाई राष्ट्रिय एकता, आत्मसम्मान र नयाँ मार्गचित्रको दिन बनाउनु हाम्रो साझा जिम्मेवारी हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर