इलाम । भदौ २४ मा जेन–जेड आन्दोलनक्रममा प्रदर्शनकारीले मेची भन्सार कार्यालयमा आगजनी गर्दा २५ हजार किलो चिया जलेर नष्ट भएको छ ।
निर्यातका लागि भन्सार पुगेको इलामका पाँच कारखानाको चिया जलेको सूर्याेदय अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसनले जनाएको छ । इलामका समाल भ्याली, अन्तु अर्गानिक टी, श्रीअन्तु, गोर्खा र दाजु–भाइ टीबाट निर्यातका लागि भन्सार पुगेको चिया आगजनीमा नष्ट भएको एसोसिएसन महासचिव गोपाल कट्टेलले बताए । ‘आन्दोलनक्रममा बन्द भएका चिया कारखाना अब खुलेका छन् । हरियो पत्ती नोक्सान हुने भएपछि कारखाना चालु गरियो,’ उनले भने, ‘अब तयारी गरेर राख्नुको विकल्प छैन । चिया क्षेत्रलाई ठूलो घाटा भएको छ ।’
विदेशबाट माग भएको चिया पनि पठाउने अवस्था नहुँदा समस्या भएको कट्टेलले बताए । चालु आर्थिक वर्ष ०८२र०८३ को साउनमा ३७ करोड ४८ लाख २४ हजार मूल्यको चिया निर्यात भएको छ । यो अवधिमा १२ लाख ९७ हजार २२ किलो तयारी चिया निर्यात भएको भन्सारको तथ्यांक छ ।