इलाम । इलामको माई नगरपालिका–६ पलाँसेका किसान सुरविर योङहाङले धान रोप्नका लागि महिनाअघि नै खेत खनजोत गरी तयार पारेका थिए । तर, अझैसम्म धान रोप्न सकेका छैनन् । उनको खेतमा पानी पुग्ने मुहानमै पानीको मूल नफुटेकाले रोपाइँ सम्भव भएको छैन । वर्षाकै आशमा यतिबेलासम्म सुरविरको खेत बाँझै छ ।
खेत जोतिए पनि पानीको अभावले रोपाइँ गर्न नसकेपछि उहाँ आकासतिर हेर्दै पानीको प्रतीक्षामा छन् । ‘समयमा पानी नपर्दा रोपाइँ गर्न पाइएन । खेत जोतेर बीउ तयार पारेको धेरै भइसक्यो,’ उनले भने, ‘अब एक सातामा पनि पानी परेन भने धान रोपाइँ हुँदैन, अर्काे साल के खाने चिन्ता लाग्न थालेको छ ।’
यस्तै, छिमेकी किसान आइतराज लिम्बूको पीडा पनि उस्तै छ । खनजोत गरेर रोपाइँका लागि तयार पारिएको खेत वर्षाको पर्खाइमा बाँझै बसेको छ । ‘पहिला–पहिला असारको सुरुमा नै पानी पथ्र्याे, तर यो साल साउन दोस्रो साता बितिसक्दा समेत पानी परेन,’ आइतराज भन्छन्, ‘आकासे पानीको पर्खाइमा दिन बित्छ, बाँझो खेत हेर्दै बस्नुको विकल्प छैन ।’
समयमा पानी नपर्दा इलामका सुरविर र आइतराजजस्ता सयौं किसान रोपाइँ गर्न नपाएपछि चिन्तित छन् । उनीहरुका लागि वर्षा नभएसम्म विकल्प भनेको पर्खाइ मात्र बनेको छ ।
साउनको दोस्रो साता वितिसक्दा समेत इलाममा ७४ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र इलामका कार्यालय प्रमुख कुलबहादुर राईका अनुसार साउन दोस्रो सातासम्म ११ हजार ६३ हेक्टरमध्ये आठ हजार एक सय ८६ हेक्टर क्षेत्रमा मात्र धान रोपाइँ भएको छ । यो कूल क्षेत्रको ७४ प्रतिशत हो ।
गतवर्ष यही समयमा ९२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको थियो । गत वर्ष १४ हजार आठ सय १५ हेक्टर क्षेत्रमा धान खेती गरिएको थियो । यसवर्ष समयमा वर्षा नभएकाले किसानले समयमा धान रोप्न नपाएको प्रमुख राईको भनाइ छ । ‘यस वर्ष मनसुन पर्याप्त छैन, पानीको मूल फुटेको छैन, जमिनमा पानीको लेबल छैन’, प्रमुख राईले भने, ‘पानी नभएपछि रोपाइँ सम्भव भएन । पानी पर्खनु बाहेको कुनै उपाय छैन ।’
कूलो र नहरको सुविधा भएको, खोला र खोल्सा क्षेत्र छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भएपनि आकासे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुन सकेको छैन । रोपेका ठाउँमा पनि सिँचाइ नुहँदा खेतका गह्राहरु चर्किन थालेको किसानहरुले बताएका छन् । काम सकेर फुर्सदिला ने समयमा किसानहरु काम नै (रोपाइँ) गर्न नपाएर पिरोलिएका छन् ।
साउन दोस्रो सातासम्म पनि रोपाइँ गर्न नपाउँदा यस वर्ष धान नै उत्पादन गर्न नसकिने चिन्तामा किसानहरु छन् ।
इलामको तल्लो क्षेत्र अर्थात चुलाचुली गाउँपालिका, माई नगरपालिका तथा माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका र देउमाई, इलाम र सूर्याेदय नगरपालिकाका तल्लो क्षेत्रमा धान खेती हुने गरेको छ ।
यहाँको माई नगरपालिका र रोङ गाउँपालिका किसानले उन्नत जातको रावित्री र रञ्जित खेती गर्ने गर्छन् । अन्य क्षेत्रका किसानले रैथाने बेलकुटी, चिराखे, अटे, चुल्ठे, भँगेरे, टिमुरे, बयर्नी, रामतुलसी, रुदुवा, नानिया, चम्पासरी, तापमारालगायत जातका धान खेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख राईले बताए ।
इलामको माई नगरपालिका, चुलाचुली गाउँपालिका र इलाम नगरपालिकामा सबैभन्दा धेरै धान खेती हुँदै आएको छ ।
भिडियो हेर्नुहोस्;