२० बैशाख, झापा । झापा जिल्ला अन्तर्गत कमल गाउँपालिका–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ।
गए रातिको समयमा हात्तीले जंगलभित्र रहेको फलामको विद्युत पोलमा धक्का दिँदा माथिको तार सर्ट भएर करेन्ट लागेको थियो। करेन्ट लाग्दा हात्तीको सुुँड र एउटा दाँत जलेको अवस्थामा मृत भेटिएको जिल्ला वन कार्यालय स्रोतले जनाएको छ।
घटनालगत्तै घटनास्थललाई सुरक्षित राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सव–डिभिजन वन कार्यालय चुलाचुलीबाट प्राविधिक टोली घटनास्थलमा पुगिसकेको छ।
स्थानीयवासीहरूका अनुसार यो क्षेत्र जंगली हात्तीको नियमित विचरण मार्गमा पर्दछ तर यस प्रकारको मृत्यु पहिलो पटक देखिएको हो। घटनाको थप अनुसन्धान भइरहेको छ।