पूर्वराजालाई ओलीको सुझाव- अलिकति टाउको निकालेर हुँदैन, चुनाव लड्न आउनुस् न

पूर्वराजालाई ओलीको सुझाव- अलिकति टाउको निकालेर हुँदैन, चुनाव लड्न आउनुस् न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् । कुर्सीमा बस्दैमा राजा नभइने भन्दै उनले कटाक्ष गरे ।

महोत्तरीमा आज आयोजित एक कार्यक्रममा ओलीले देशका जुनसुकै स्थानबाट चुनाव लड्न सुझाव दिए ।

उनले भने, ‘…हुँदा हुँदा हिजो कि अस्तिका दिन उहिले नेपाली जनताले फालेको राजतन्त्रलाई फेरि कताबाट कहाँबाट उधिनेर ल्याएर खोइ कहाँ कुर्सीमा राख्छन् अरे । मान्छे कुुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरु कुर्सीमा बस्नुभएको छ, राजा हुनुभो ? (अर्कोतिर फर्केर) यता पनि कुर्सीमा बस्नुभएको छ राजा हुनुभो ? कुर्सीमा राख्दैमा राजा भइँदैन ।’

छायाँलाई अगाडि सार्नुभन्दा आफैं अगाडि सर्न पूर्वराजालाई ओलीले आग्रह गरे । संविधानको बाटो समाएर आएमा आफूहरुलाई आपत्ति नहुने उनको भनाइ थियो ।

‘लोकप्रिय हुनुहुन्छ भने ठीक छ, संविधानअनुसार चुनाव लड्न आउनुस् न । तपाईंलाई जहाँसुकै चुनाव लड्न खुला छँदैछ नि । आउनुस्, चुनाव लड्नुस्, पार्टी खोल्नुस । खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न । एउटा घोस्ट भन्छ नि… छायाँ अगाडि सारेर होइन, आफूलाई अगाडि सार्नुस् न । अनि अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो… यसोयसो पनि गर्ने, अप्ठेरो पर्यो भनेर फुत्त तानेर कछुवा तालले टाउको लुकाउने ?’

प्रतिक्रिया:

सम्बन्धित खवर