२५ माघ, झापा । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ ।
पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । दुवै कार्यालयका अनुसार यस एक वर्षमा १२ प्रतिशत काम सम्पन्न भएको छ ।
यसै आर्थिक वर्षभित्र कम्तिमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताउनुभयो । त्यस्तै आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले पनि यसै आर्थिक वर्षभित्र कम्तिमा १० किलोमिटर सडकमा पहिलो चरणको कालोपत्र सक्ने लक्ष्य रहेको बताउनुभयो ।
नेपालबाट भारत हुँदै २७ किलोमिटरमै बङ्गलादेशसँग ‘एसियन हाइवे’ जोडिएकाले यसले अन्र्तराष्ट्रिय व्यापारको सम्भावना बोकेको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो । सडक सञ्चालनमा आएसँगै आयात तथा निर्यात सस्तो पर्नुका साथै ग्रामीण व्यवसाय अन्तर्राष्ट्रिय बजारसँग जोडिने उहाँ बताउनुहुन्छ ।
एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा गत माघ १९ गतेदेखि सडक निर्माण कार्य सुरूभएको हो । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।
ठेक्का लागेको ९५ दशमलव ७६ किमी सडक क्षेत्रभित्र साना र ठूला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् । पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन् भने एक सय ४० वटा बक्स कल्वर्टमध्ये ९२ वटा निर्माण भइरहेको आयोजनाको पूर्वी खण्ड प्रमुख पन्तले बताउनुभयो ।