दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै निसान पदयात्रा

दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै निसान पदयात्रा

इलाम । दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै इलाममा निसान (विशेष किसिमको झन्डा) पदयात्रा सुरु गरिएको छ ।

वीरतापूर्ण इतिहासपछिको सन्धिलाई स्मरण गर्दै भारतीय सीमाबाट इलाम सदरमुकामसम्म पदयात्रा थालिएको हो । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान जुन बाटो भएर फर्काइएको थियो, त्यही बाटो संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न करिब दुई सय जनाले पदयात्रा थालेका हुन् । बुधबार नेपाल–भारत सीमा छब्बिसेस्थित मेची बजारबाट सुरु गरिएको ४१.१ किलोमिटरको पदयात्रा शुक्रबार इलाम सदरमुकाम आइपुग्ने छ ।

नेपाली फौजको तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर नागरीगढी (अहिले भारत)मा गाडेका निसान सुगौली सन्धीपछि फर्काएर अहिलेको इलाम सदरमुकाम ल्याइएको थियो । त्यहाँबाट करफोकको पूर्णेडाँडा–नामसालिङको हात्तीटार हुँदै अहिलेको सदरमुकामम्म ल्याइएको इतिहास छ ।

त्यसैअनुसार, मेचीबजारमा बिहान सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राई, इलाम नगरका मेयर केदार थापा, माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेलगायतले संयुक्त रूपमा पदयात्रा शुभारम्भ गरेका छन् । त्यस अवसरमा यी तीनै पालिकाका प्रमुख, इलाम नगरपालिका उपमेयर विष्णुकुमारी लिम्बू (दाहाल), सूर्याेदय नगर उपमेयर दुर्गाकुमार बराल, माइजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राई, सिडिओ कल्पना श्रेष्ठ, नेपाली सेनाको रणशार्दूल गणका गणपति प्रल्हाद घले, जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकाललगायत सहभागी भएका छन् ।

श्रीनाथ पल्टनले त्यसबेला प्रयोग गरेकै कालो पोसाकका नेपाली सैनिक सांकेतिक रूपमा निसान, खुँडा, ढाल, तरबारलगायत बोकेर पदयात्रा गर्दैछन् । नौमती बाजा र विभिन्न भाँकीसमेत छन् । पदयात्रीलाई स्वागत गर्न स्थानीयले ठाउँ–ठाउँमा घडा, कलशलगायत राखेका छन् । निसान पदमार्गले इलाममा मुख्य बसोबास रहेको आदिवासी लोपोन्मुख लेप्चा र लिम्बू जातिको पुरानो थातथलोको इतिहास झल्काउने, नेपालको पुरातात्त्विक सम्पदाबारे नयाँ पिँढीलाई जानकारी दिने इतिहासकार युद्धप्रसाद वैद्य बताउँछन् ।

बुधबार साँझ यो पदयात्रा करफोकको पूर्णेडाँडा आइपुगेको छ । बिहीबार पूूर्णेडाँडामा पदयात्राको औपचारिक उद्घाटन गरिने आयोजकमध्ये सूर्याेदय नगरका मेयर राईले बताए । उद्घाटनपछि पुनः सुरु भएर पदयात्री निसान राखिएको अर्को स्थान माइजोगमाईको नामासालिङस्थित हात्तीटार आउनेछन् । २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माइबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम बजारस्थित माइस्थानमा आउनेछ । र, औपचारिक समापन गरिने छ ।

इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त रूपमा पदयात्रा आयोजना गरेका हुन् । नेपाल एकीकरण गर्दैजाँदा पूर्वमा टिस्टा नदीसम्म पुगेको नेपालको सीमा सुगौली सन्धिपछि अहिलेको विन्दु (मेची नदी) कायम भएको इतिहास छ । नेपाल एकीकरण गर्दैजाँदा नेपाली सेनाको तत्कालीन श्रीनाथ पल्टनले पुरानो सीमाविन्दु नागरीगढीमा गाढेको निसान सुगौली सन्धिपछि १८७५ सालमा इलाम ल्याइएको थियो ।

इलाम नगरका मेयर थापाले पदयात्राका माध्यमबाट पर्यटक आकर्षित गर्न यो कार्यक्रम तय गरिएको बताए । माइजोगमाई गाउँपालिका उपाध्यक्ष थेबेले ऐतिहासिक पदमार्गमा पर्यटक आकर्षित हुनसके पर्यटनको नयाँ गन्तव्य विकास हुने भएकाले नयाँ गन्तव्य विकास गर्न लागिएको जनाए ।

नागरीगढीबाट इलाम बजार ल्याइएको निसान र तोप इलामको माइस्थान मन्दिरमा नेपाली सेनाको निगरानीमा राखिएको थियो । सशस्त्र द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै नेपाली सेनाले यहाँको निसान र तोप काठमाडौं स्थानान्तरण गरेको थियो । तर, इलामबासी, पर्यटनकर्मी र इतिहासकारलगायतको निरन्तर दबाबपछि २०७४ सालमा निसान र २०७९ सालमा तोप माइस्थान मन्दिरमै ल्याएर पुनस्र्थापित गरिएको छ ।

ऐतिहासिक निसान ल्याएको र जिल्ला सदरमुकाम स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा २०७५ सालमा इलाम नगरले महोत्सवसमेत आयोजना गरेको थियो । नेपाल–अंग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गरेको थियो । मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ पल्टन अहिले इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बस्यो । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो ।

इलामको यही इतिहासबारे सबैलाई जानकारी गराउन जरुरी रहेको उनी बताउँछन् । ‘यो विषय नेपालको इतिहासमा समेत लेखिएको छैन,’ इतिहासकार वैद्य भन्छन्, ‘इलाम नेपालमा गाभिनु पृथ्वीनारायण शाहको राज्य एकीकरणको सुरुआत थियो । सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम सारेर करफोक ल्याएका हुन् । पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अंग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा यो पल्टन इलामको माइस्थान ल्याइएको थियो ।’ निसान रहेको माइस्थान मन्दिर १८८० स्थापना भएको अनुमान छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर