८ पौष, इलाम– रोगले सखाप भइसकेको अलैंचीबाट निरास भइसकेका किसान अहिले त्यसैमा उत्साहीत भएका छन् ।
उत्पादित अलैंचीको भाउ राम्रो आएपछि थोरै लगानीबाट किसानले उच्च मूल्य पाएका छन् । यो वर्ष १२ वर्षयताकै उच्च मूल्यमा अलैंची कारोबार भएपछि किसानमा जाँगर थपिएको हो ।
अहिले इलामका बजारमा प्रतिमन (४० किलो) उच्च गुणस्तरीय अलैंचीको मूल्य एक लाख १० हजार पुगेको छ । अलैंचीको पुराना बगान मासिएर नयाँ बगान विस्तार गरिरहेका किसान अझ हौसिएको माइमझुवाका किसान गिरिराज खनालले बताए ।
‘एक पटक बिरुवा लगाएर छाडिदिने होइन, यसलाई पनि पटक–पटक मलजल, गोडमेल, बगानको सरसफाइ गर्नु आवश्यक छ । जाँगर चलाउँदा अब पैसाकै लागि विदेशिनुपर्ने अवस्था छैन भन्ने अलैंची खेतीले प्रमाणित गरेको छ,’ उनले भने, ‘यस वर्ष अलैंचीको मूल्य राम्रो भयो, यस्तै भाउ कायम रहे धेरै युवाले गाउँघरमै बसेर उद्यम गर्छन्, हामी उत्साही छौँ ।’
खनालले ४५ रोपनी जमिनमा अलैंची खेती गरेका छन् । यो बगानमा गत वर्षभन्दा दोब्बर अलैंची फलेको खनालले बताए । करिब १० वर्ष वैदेशिक रोजगारीमा बसेर फर्केपछि उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा सन्दकपुर गाउँपालिका–२ को वडाध्यक्षसमेत भए ।
खनाल केही महिनाअघिसम्म एक राजनीतिक दलको पालिका अध्यक्षसमेत थिए । राजनीतिमा लागेर जनप्रतिनिधि भएपनि आफैँ स्वरोजगार बन्नुपर्छ र गाउँमै खेतीकिसानीमा अरू युवालाई पनि प्रोत्साहन गर्न आफू लागि परेको खनाल बताउँछन् ।
पूर्वी पहाडमा नगद आर्जनको राम्रो स्रोत बनेको अलैंचीको मूल्य करिब एक महिनायता अलैंचीको मूल्य प्रतिमन एक लाख १० हजार रुपैयाँमा आएर स्थिर रहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले बताए । उनका अनुसार अहिले गाउँबाट करिब ७० प्रतिशत अलैंची बजार आइसकेको छ ।
जिल्लाका बिब्ल्याँटे, फिक्कल, नयाँबजार, मङ्गलबारेलगायत बजारमा अलैंचीको कारोबार भइरहेको छ । सन्दकपुर, माईजोगमाई, देउमाई, रोङलगायत पालिकामा अलैंची उत्पादन धेरै हुने गरेको छ ।
जिल्लामा बर्सेनि तीन अर्ब रुपैयाँ हाराहारीको अलैंचीको कारोबार हुने गरेको अनुमान गर्न सकिने वाणिज्य सङ्घका अध्यक्ष पौडेल बताउँछन् । पौडेलका अनुसार २०७९ सालमा इलाममा अलैंची प्रतिमन ३२ हजार रुपैयाँमा कारोबार भएको थियो । २०८० सालमा ६० हजार पुगेको अलैंचीको मूल्य अहिले एक लाख १० हजार रुपैयाँ पुगेको हो । १० वर्षअघि पनि अलैंचीको मूल्य प्रतिमन लाख रुपैयाँ नाघेको थियो ।
मूल्य उच्च भएसँगै अहिले किसानले अलैंची खेती विस्तारका लागि बारी तयार गर्ने, बिरुवा उत्पादनका लागि ब्याड राख्नेजस्ता काम थालेको बताइएको छ । देशको १७ हजार चार हेक्टरमा अलैंची खेती हुने गरेको पान्दामस्थित अलैंची विकास केन्द्रले जनाएको छ ।
यता चालु आव २०८१र८२ को मङ्सिरसम्ममा तीन अर्ब ४५ करोड ६३ लाख ४७ हजार रुपैयाँ मूल्य बराबरको २० लाख ७४ हजार पाँच सय किलो अलैंची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । -palikapage