२३ मंसिर, झापा । झापाको दमक ३ मा निर्माण सम्पन्न भएको दमक कमर्सियल कम्लेक्सको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उद्घाटन गरेको यो व्यापारिक भवन १ सय मिटर अग्लो १८ तले रहेको छ ।
उपप्रधानमन्त्री समेत रहनुभएका शहरी विकाश मन्त्री प्रकाशमान सिंहको अध्यक्षमा र प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको यस कम्लेक्सको कुल लागत एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँ रहेको छ । सरकारले दमक टावरसहित ६ विशिष्ट संरचनाको जिम्मा रहने गरी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश २०८१ जारी गरेर सोही अनुसार सरकारले टावर सञ्चालनका लागि निजी क्षेत्रलाई आह्वान गर्न सक्ने बताईएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दमक व्यापारिक कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा समेत गर्नुभयो । उहाँले भन्नुभयोः “हामीले मुख्य बजारमा भन्दा पनि खुल्ला क्षेत्रमा नै व्यापारीक कम्लेक्स निर्माण गर्न चाहेर यो योजना यहाँ बनेको हो, खुला स्थानमा हामी चाहेको जस्तो तरिकाले आधुनिक ढंगबाट बजारको स्थापना गर्न सक्छौँ । अब यहाँ आधुनिक तरिकाले बजारको विकाश हुन्छ ।”
निकट भविष्यमै भवनले सिंगो झापा र दमकको परिचय दिने पनि उहाँले बताउनुभयो । “दुबैको बुर्ज खलिफा, मलेसियाको ट्विन टावर जस्तै भोली झापा र दमक भन्ने बित्तिकै दमक व्यापारिक कम्प्लेक्सलाई सम्झने छन् ।”
सहरी विकासमन्त्री प्रकाशमान सिंहले समेत भवनबाट आर्थिक लाभ लिन सक्ने बताउनुभयो । टावरलाई दमक नगरको परिधिमा थप सहरी विकासको बीउका रूपमा देख्न सकिने उहाँले बताउनुभयो । उहाँले यो भवनले दमकमा सहरी वातावरण सिर्जना गर्न, स्थानीय पर्यटन प्रवद्र्धन गर्न, तीनै तहका सरकारलाई योजनाबद्ध भूमि विकास परियोजना सुरु गर्न र कार्यान्वयन गर्न प्रेरित गर्ने दाबी गर्नुभयो ।