१९ मंसिर, झापा । झापामा पछिल्ला बर्षहरुमा नसर्ने रोगीको संख्यामा बृद्धी हुँदै गएको तथ्याङ्कले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार गतआर्थिक वर्षमा नसर्ने रोग अघिल्लो आर्थिक वर्षभन्दा बढेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चूडामणि लुइँटेलका अनुसार झापामा उच्च रक्तचापका बिरामी धेरै रहेका छन् । गतआर्थिक २०८०।०८१ मा २३ हजार ९५० जना उच्च रक्तचापका विरामी फेला परेका थिए । अघिल्लो आर्थिक वर्ष २०७९।०८०को ३५ प्रतिशतले बढी हो ।
त्यस्तै मधुमेहका विरामी पनि वर्षेनि बढ्दै गएका छन् । मधुमेहका विरामी आर्थिक वर्ष २०८०।०८१मा २० हजार ७६८जना रहेका थिए, जुन अघिल्लो आर्थिक वर्षभन्दा १५ प्रतिशतले बढी हो । क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज अर्थात सीओपीडीका बिरामी समेत बढ्दै गएका छन् । श्वास नली साँघुरिँदै गएर सास फेर्न गाह्रो बनाउने यो रोग खासगरी बूढापाकालाई लाग्ने बताइएको छ । यो रोगको अवस्था पनि भयावह बन्दै गएको छ ।
झापाामा आर्थिक वर्ष २०८०।०८१ म सीओपीडीका छ हजार १६० जना बिरामी रहेका थिए । जुन अघिल्लो आर्थिक वर्षको भन्दा २० प्रतिशतले बढी हो । त्यस्तै झापामा क्यान्सर रोग पनि बढ्दै गएको छ । क्यान्सरका कारणले धेरैले ज्यान गुमाउनु परेको छ । आर्थिक वर्ष २०८०।०८१मा क्यान्सरका दुई हजार ५८३ जना बिरामी फेला परेका थिए । अघिल्लो आर्थिक वर्षको भन्दा १७ प्रतिशतले यो बढेको तथ्याङ्कले पुष्टि गरेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी लुइँटेलको भनाइ छ । झापामा थाइराइडका बिरामी पनि उस्तै रहेका छन् । आर्थिक वर्ष २०८०।०८१मा तीन हजार ४ सय ७० जना फेला परेका थिए । अघिल्लो आर्थिक वर्षमा पनि सोही अनुपातमा यो रोगका बिरामीहरु रहेको जनाइएको छ ।
झापामा श्वास–प्रश्वास अर्थात दमका रोगी पनि पछिल्लो समय बढ्दै गएका छन् । आर्थिक वर्ष २०८०।०८१मा दमका दुई हजार १९९ जना बिरामी फेला परेका थिए । जुन अघिल्लो आार्थिक वर्ष २०७९र०८०को भन्दा २८ प्रतिशतले बढी हो । अहिले विश्व लगायत नेपालमा जम्मा मृत्युको ५१ प्रतिशत यस्तै विभिन्न नसर्ने रोगका कारण भएको अनुसन्धानले पुष्टि गरेको छ । नसर्ने रोग भन्नाले मुख्यगरी मुटु तथा रक्तनलीका रोग, मधुमेह, क्यान्सर तथा दीर्घ अवरोधात्मक श्वासप्रश्वासका रोगलाई मानिन्छ ।
दम, क्यान्सर, मधुमेह र मुटु तथा रक्तनली लगायतका रोगका बारेमा जनचेतना जगाउन जिल्ला स्वास्थ्य कार्यालय झापाले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको जनाइएको छ ।
नसर्ने रोग लाग्ने मुख्य कारण सूर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन, अस्वस्थकर भोजन र वायु प्रदूषण, मानिसको जीवनशैली लगायत रहेको चिकित्सकहरुको भनाइ छ । यस्ता रोगबाट बाँच्न वा मृत्युदर घटाउन रोगको शुरुको अवस्थामै पहिचान गर्नु, नियमित स्वास्थ्य परीक्षण गर्नु, जीवनशैलीगत अस्वस्थकर व्यवहार हटाउनु र रोगीको राम्रो उपचार तथा स्याहार गर्नु नै मुख्य उपाय भएको लुइँटेलको भनाइ छ ।