सुपारी बिक्रि नहुदा झापाका किसान चिन्तित

सुपारी बिक्रि नहुदा झापाका किसान चिन्तित


१८ मंसिर, झापा । झापामा उत्पादन भएको सुपारीले बजार नपाउदा किसानहरु चिन्तित बनेका छन् । हरेक वर्ष व्यापारीहरुको भीडभाड हुने झापा मेचिनगरको सुपारी बगानमा यतिवेला सुनसान छ । भदौं अन्तिमदेखि असोज १५ सम्म बोटबाटै विक्री हुने सुपारी खरिद गर्न व्यापारीहरु देखा परेका छैनन् । फूल लाग्दै विक्री हुने सुपारी मंसिरको दोस्रो सातासम्म व्यापारी नआउँदा किसान चिन्तित बनेका छन् ।

झापामा ७० हजार परिवारको बगानमा सुपारी अलपत्र परेको छ । बगानमा लटरसम्म सुपारी उब्जाएका किसानहरु व्यापारी कुर्दै बसिरहेको बताउँछन् । मेचीनगर –४ का जीवन कुमार पाण्डे हरेक वर्ष आफ्नो सुपारी बगानबाट २ लाख ४० हजारसम्म आम्दानी गर्नुहुन्थ्यो । धान मकैं लगाउने बाली मासेर सुपारी लगाएको पाण्डे परिवार अहिलेसम्म व्यापारीहरु नआएको बताउनुहुन्छ ।

धान मकैंभन्दा सजिलो र धान मकैंले १० वर्षमा दिने उत्पादन बराबर एकै वर्षमा दिने सुपारीमा किसानको आकर्षण बढ्दो छ । हरेक वर्ष सुपारी लगाउनेहरु बढ्दै गइरहेको झापामा यो वर्षदेखी व्यापारमा चुनौति देखिएको स्थानीय किसानको भनाई छ ।

सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले सुपारी व्यापारमा गत वर्षदेखी नै समस्या सुरु भएको बताउनुहुन्छ । उहाँका अनुसार ०७९ साउन १६ गते राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन विकास समितिले नेपालको सुपारीको डिएनए परीक्षण गरेर मात्र निर्यात गर्न वाणिज्य मन्त्रालय र अर्थमन्त्रालयमा पत्राचार गरेपछि समस्या सुरु भएको हो । डिएनए परीक्षणका लागि सरकारले अहिलेसम्म ल्याव राख्ने काम नै सुरु नगरेको तिवारीको भनाई छ । के हो डिएनए, किन गर्ने जस्ता अन्यौलका बीच सुपारीको व्यापारमा असर गरेको उहाँको दावी छ ।

डिएनए सम्बन्धमा नार्कका वैज्ञानिकहरुले सुपारीको बोटको मात्र डिएनए परीक्षण संभव हुने बताएका थिए । पाकेको सुपारीको डिएनए हुदैन भन्ने धारणा वैज्ञानिकहरुको छ, तिवारी भन्नुहुन्छ– सरकार सुपारीको डिएनएमा अल्झिएको छ । किसान सुपारी बगान हेर्दै निराश बन्ने अवस्था छ ।

गत वर्ष प्रशोधन कर्ताहरुले डिएनएका बारेमा थाहा नभएका कारण वैना गरेका थिए । वैना गरेको सुपारी खरिद गरेर प्रशोधन गर्ने कतिपय व्यापारीहरुले अहिलेसम्म विक्री गर्न नसकेको तिवारीले जानकारी दिनुभयो । अध्यक्ष तिवारीका अनुसार उदयपुर देखी झापासम्म १ लाख किसानले सुपारी लगाएका छन् । त्यसमध्ये १० जना किसानको पनि बिकेको छैन ।

मेचीनगर – ४ का वडासदस्य पवन बराइलीले सुपारी विक्री नभएपछि किसान मार्कामा परेको बताउनुभयो । उहाँले विगत वर्षहरुमा सहजै विक्री भए यो साल विक्री हुन नसकेको जानकारी दिनुभयो ।

सुपारीको उपचार, प्राविधिक विज्ञहरुको समेत अभाव हुँदा किसान समस्यामा पर्ने गरेका छन् । सो क्षेत्रको प्रमुख नगदे बाली सुपारीमा जंगली हात्तीले समेत क्षति पुराउँदै आएको छ । क्षति वापत राहत प्राप्त गर्न नसकेको बराईलीले दुखेसो गर्नुभयो । राहत निर्देशिकामा सुपारी, बाँस जस्ता उत्पादनमा क्षति हुँदा राहत नपाइने व्यवस्था सच्याउनुपर्ने उहाँको माग छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर