इलाम । इलामका ठूला खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्नेक्रम बढेको छ ।
जेनेरेटर र विष्फोटक पदार्थ (ग्रिनेड बम)समेत प्रयोग गरी माछा मार्दा मानिसको ज्यानसमेत जोखिममा पर्नेगरेको छ ।
जिल्लामा रहेका माइखोला, जोगमाई, देउमाई, पुवालगायत खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयले बताएका छन् ।
सानो जेनेरेटर र ग्रिनेड प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयको भनाइ छ । माइखोलामा अहिले स्थानीय जातका माछा नै मासिइसकेको एक स्थानीयले बताए ।
यसरी माछा मार्दा जलचरको नाश हुनेमात्र नभइ ग्रिनेड प्रयोगले कतिपयका हातसमेत चुँडिएका थिए ।
‘असला, बुदुना, सहर, गोज, चेप्टी, ठेड, भ्याद्रे, काब्रे, राजा बाम, चुच्चे बाम, कत्ले, तिते, मसाने, लोहोरी, नाक कटुवा, सिंगानेलगायत १५ भन्दा धेरै जातका माछा इलामका खोलामा पाइन्थे,’ ती स्थनीयले भने, ‘अहिले कत्ले, तिते र बसाइँ सरी आएका बुदुनामात्र पाइन्छन् । अरू त करेन्ट र विष्फोटक पदार्थले नै नाश भइसके ।’
हिउँद लागेर खोलामा पानी सुुकेपछि माछा मार्नेको संख्या धेरै छ । स्थानीयको भनाइअनुसार कतिपयले आफैँ घरमा विष्फोटक पदार्थ तयार गर्नेगरेका छन् । कतिपयले भने जलविद्युत् आयोजना निर्माणका लागि चट्टान फोर्न ल्याइएका विष्फोटक पदार्थ चोरेर पनि प्रयोग गर्नेगरेका छन् ।
कतिपयले भने खोलाछेउमै जेनेरेटर लगेर करेन्ट प्रयोग गरी माछा मार्नेगरेका छन् । माइखोलाको मेची राजमार्गअन्तर्गत पर्ने राजदुवालीदेखि करिब दुुई किलोमिटर आसपासमा यसरी माछा मार्नेको समूह हुने गरेको बताइएको छ । यहाँ माछा मार्ने को हुन् भन्ने स्थानीयलाई राम्रो जानकारी भएपनि खुलेर बताउन चाहँदैनन् ।
जलचरलाई करेन्ट लगाउन र विष्फोटक पदार्थ प्रयोग गरी मार्न नपाउने कानुनी व्यवस्था छ ।
यसअघि सन् २०१० मा देउमाई खोलामा करेन्ट र विष्फोटक पदार्थ प्रयोग गरी माछा मारेको भन्दै स्थानीय तीन जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय इलामले जलचर संरक्षण ऐन–२०१७ अनुसार मुद्दा चलाएको थियो ।
त्यसरी माछा मार्ने क्रम केही रोकिएको थियो । अहिले पुनः जथाभावी ढङ्गले माछा मार्ने गरिएको हो । -palikapage