भ्रामक सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न साइबर ब्युरोलाई पत्र

भ्रामक सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न साइबर ब्युरोलाई पत्र

२१ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखेको छ ।

एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको आरोपमा ती माध्यमलाई कानूनी कारवाहीको लागि पठाइएको हो । कारवाहीको लागि लेखी पठाइएका ती कुनै पनि युट्युव च्यानल सञ्चारमाध्यमका रूपमा दर्ता छैनन् । दर्ताविनाका यी च्यानललाई सचेत गराई नसच्चिएपछि थप कारवाहीका लागि प्रहरीमा आग्रह गर्ने गरिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए ।

काउन्सिल अध्यक्ष बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारवाही गर्ने निर्णय गरिएको हो ।

जारी गरी गत साउन महिनायता हिंसा, आतंकलाई प्रश्रय पुग्ने, निराधार विषयको अफवाह फैलाउने, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित तुल्याउनेविरुद्ध कारवाही तीव्र पारिएको जनाएको हो ।
त्यस्तै साउनयता मात्र आचारसंहिता पालनाको निर्देशन अटेर गर्ने एबीपीक्राइमन्यूज डट कम, टीभि अन्नपूर्ण डटकम र सेतोखरी डटकमलाई कालोसूचीमा राखिएको छ । साउनयतामात्र ७६ वटा उजुरी दर्ता भएका छन् भने २६९ सामग्री काउन्सिलले स्वअनुगमन गरी कारवाही गरेको काउन्सिलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

युट्युव च्यानलबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासा बढ्न थालेपछि कार्यविधि बनाएर काउन्सिलले नियमन थालेको छ ।

विवादास्पद समाचार सम्प्रेषण गर्दै आएको आरोपमा अनलाइनपाना डटकम, दियोपोष्ट डटकम, स्वास्थ्यलाइभ डटकम, जनताटाइम्स डटकम, खप्तडटिभि डट कम, गुडटिभी डटकम, अर्थसञ्जाल डटकम, ध्वनीखबर डटकमसहितलाई विशेष अनुगमनमा राखी निगरानी गरिरहेको काउन्सिलले जनाएको छ ।

कारवाहीको लागि सिफारीसमा परेका युटुव च्यानलको नाम हेर्न यो लिङ्कमा जानुहोस्ः Karwahiko List final_council

प्रतिक्रिया:

सम्बन्धित खवर