इलामका दुई सामुदायिक वन रेडपान्डा संरक्षण क्षेत्र

इलामका दुई सामुदायिक वन रेडपान्डा संरक्षण क्षेत्र


२५ साउन, इलाम । इलामका दुई सामुदायिक वनलाई रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिका–३, पाटेनागीका पुवामाई र कालपोखरी थामडाँडा सामुदायिक वनलाई लोपोन्मुख रेडपान्डाको संरक्षण क्षेत्र घोषणा गरिएको हो ।

यो क्षेत्र इलाम नगरको एक मुख्य पर्यटकीयस्थल पनि हो । नगरकै अग्लो भू–भाग (तीन हजार ४२ मिटर उचाई)का रूपमा रहेको पाटेनागी लेकाली भेगमा पर्ने भएकाले यहाँबाट मनमोहक दृश्य हेर्न पर्यटकको बाक्लो उपस्थिति हुनेगरेको छ । यही क्षेत्रका दुई वनलाई नगरको अगुवाईमा संरक्षण क्षेत्र घोषणा गरिएको हो ।

संरक्षित क्षेत्र रहेका यी दुई सामुदायिक वनको क्षेत्रफल एक सय १६ दशमलव २१ हेक्टर छ ।
इलाम नगरपालिकाको वन ऐन–२०७८ र पुवामझुवा सामुदायिक रेडपान्डा संरक्षण तथा व्यवस्थापन कार्यविधि २०८० अनुसार यो क्षेत्रलाई रेडपान्डाको संरक्षण क्षेत्र घोषणा गरिएको मेयर केदार थापाले बताए ।

जिल्लाको उत्तरी क्षेत्रका वनमा लोपोन्मुख रेडपान्डा देखिनेगरेको छ । सन्दकपुर गाउँपालिकाका माइमझुवा, चोयाटार, माइजोगमाई गाउँपालिकाको थुम्केरानी, सूर्याेदय नगरपालिकाको थुम्केलगायत क्षेत्रमा रेडपान्डा पाइन्छन् । सीमावर्ती भारतको सिंहलीला नेसनल पार्क पनि यही क्षेत्रसँग जोडिएकाले रेडपान्डा संरक्षण गर्नु आवश्यक रहेको सरोकारवाला बताउँछन् ।

दक्षिण एसियामा म्यानमार, नेपाल, चीन, भारत र भुटानमा मात्र लोपोन्मुख रेडपान्डा पाइनेगरेको छ । रेडपान्डा नेटवर्कका हरिशचन्द्र राईले दुर्लभ रेडपान्डा संरक्षणमा नागरिकस्तरबाटै काम गर्नु आवश्यक रहेको बताए । ‘रेडपान्डा संरक्षण गर्न अलि चुनौतीपूर्ण पनि छ,’ उनले भने, ‘यसमा कसैको एकल प्रयास सम्भव हुँदैन, सबैले संयुक्त प्रयास गर्नुपर्छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर