३ साउन, काठमाण्डौँ । नेपाल, भारत र बंगलादेशका मन्त्रीबीच विद्युत व्यापारका लागि त्रिपक्षीय सम्झौता हुने भएको छ ।
तीन देशका मन्त्रीको उपस्थितिमा सम्झौता साउन १३ गते (जुलाई २८) मा विद्युत व्यापार सम्झौता गर्न हुन लागेको ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले बताए । नेपालबाट उत्पादित ४० मेगावाट विद्युत निर्यात हुने छ ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, बंगलादेशका ऊर्जा मन्त्री नस्रुल हमिद र भारतका पावर मिनिस्टर मनोहरलाल खट्टर बीच ऊर्जा सम्झौता हुन लागेको हो ।
सम्झौतामा भने नेपाल विद्युत प्राधिकरण, एनभीभीएन भारत र बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी) बीच हुने छ ।
बीपीडीबीले २०८० पुस १६ गते नेपालबाट उत्पादित ४० मेगावाट विद्युत बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौता अनुसार ५ वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो ।
नेपाल प्राधिकरणले विद्युत बिक्रीका लागि कागजात पेस गरेको थियो । सिंहले भने, ‘नेपालले प्रत्येक वर्षको ५ महिना जुन १५ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म बिजुली निर्यात गर्नेछ । महिना २८ हजार ८०० मेगावाट आवर विद्युत निर्यात हुन्छ ।
प्रतियुनिट बिजुलीको मूल्य ६।४ सेन्ट पाइन्छ । नेपालले ५ वर्षको विद्युत निर्यातबाट १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गर्नेछ ।’