१९ असार, झापा । मानवहित संरक्षण मञ्च नेपालको मुख्य आयोजना र नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल खेलकुद महासंघको आयोजनामा झापामा १० किलोमिटर खुल्ला दौड र ५ किलोमिटर स्थानीय दौड प्रतियोगिता हुने भएको छ ।
स्वास्थ्य, भातृत्व र पर्यटन प्रवद्र्धनका लागि खेलकुद भन्ने नारासहित २१ असारमा झापाको दमक ९ स्थित भाटभटेनी सुपरमार्केट परिसरबाट शुरु हुने दौडको समापन कमल ३ स्थित पूर्व जनमुक्ती सेना नेपालद्धारा निर्मित सहिद गेटस्थलमा हुने जनाइएको छ । आयोजक संस्थाले खुल्ला दौडमा नेपाल, भारत, भुटानका समेत करिब ५ सय धावकहरुले सहभागिता जनाउने अपेक्षा गरेका छन् ।
दौडमा सहभागिताका लागि १७ असारदेखि नाम दर्ताको क्रम शुरु भएकाले इच्छुक सबैलाई सहभागिताको सुनिश्चितताका लागि नाम दर्ता गराउन भनेको छ । दमकमा आयोजित पत्रकार सम्मेलनमा आयोजक मानवहित संरक्षण मञ्च खेलकुद समितिकी संयोजक समुन्द्रा लामाले दौड प्रतियोगितामा सहभागी भई छैठौं स्थानसम्म हासिल गर्ने धावकलाई नगद ५० हजारदेखि २ हजार सम्म पुरस्कार राशी राखिएको जानकारी दिइन् ।
वन, वातावरण तथा पर्यटन मन्त्रालयको सहयोगमा आयोजना गर्न लागिएको यो प्रतियोगिताको १० किलोमिटर तर्फको खुल्ला दौडमा देश विदेशका समेत महिला र पुरुष दुवै समुहबाट प्रथम हुनेले नगद ५० हजार, द्धितीय हुनेले नगद २५ हजार, तृतीय हुनेले नगद १५ हजार, चौथो हुनेले नगद ५ हजार, पाँचौ हुनेले नगद ३ हजार र छैठौं हुनेले २ हजार रुपैयाँ राशीको पुरस्कार पाउनेछन् ।
त्यसैगरी स्थानीय तर्फको ५ किलोमिटर दौड प्रतियोगिता भाटभटेनी परिसरबाट शुरु भई आदिवासी रंगशाला कमल ५ सम्म पुगेर टुंगिनेछ । सो प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्धितीय हुनेले १० हजार, तृतीय हुनेले ५ हजार, चौथो हुनेले २ हजार र पाँचांैं हुनेले १ हजार रुपैयाँ राशीको पुरस्कार पाउनेछन् ।