देशलाई नचिन्नु, नबुझ्नु ठूलो समस्या हो- सुहाङ

देशलाई नचिन्नु, नबुझ्नु ठूलो समस्या हो- सुहाङ

१ असार । नेकपा एमालेका युवा नेता एवम् प्रतिनिधि सभा सांसद सुहाङ नेम्वाङले अहिलेसम्मको ठूलो समस्या भनेको देशलाई नचिन्नु भएको बताएका छन्।

संसदमा बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले आफ्नो सम्भावनालाई नबुझ्नु समस्या भएको बताए ।

‘हाम्रो अहिलेसम्मको सबैभन्दा समस्या ‘हामीले हाम्रो देशलाई नचिन्नु हो । हाम्रो सम्भावनालाई नबुझ्नु हो’, उनले भने, ‘जहाँ जतिसुकै मानव निर्मित चिज बनाएपनि पर्यटन आउँदैन । त्यही बजेट हाल्छौं । जहाँ केही नबनाएपनि पर्यटक आइरहेका छन्, त्यस्ता ठाउँको बेवास्ता गछौं । हाम्रो समस्या यहीनिर छर, यो समस्या अहिले पनि देखियो ।’

उनले इलाम निर्वाचन क्षेत्र नं. २ मा मन्दिर निर्माणका लागि बजेट विनियोजन भएपनि पर्यटकीय क्षेत्रमा शून्य भएकोमा टिप्पणी गरेका छन् ।

उनले उपनिर्वाचनका क्रममा जनताले गरेका मागहरु आफूले सम्बन्धित क्षेत्रमा बुझाए पनि बजेटमा नसमेटिएको आशय व्यक्त गरे । उनले ति मागहरु बजेटमा नदेख्दा आफ्नो विश्वास र मान्यता खण्डित भएको बताए ।

‘इलामेली जनतालाई छिट्टै फर्किन्छु भनेर हतार–हतार फर्किएर इलामेली जनताको आबश्यकताको सूची सकेसम्म बुझाएँ’, उनले भने, ‘तर जब बजेटका यी पुस्तिकाहरु सार्वजनिक भयो । त्यो मेरो विश्वास र मान्यता खण्डित भयो । हाम्रो सिद्धान्त र प्राथमिकता एकातिर, हाम्रो आवश्यकता र माग एकातिर अनि हामी अर्का तिर रहेछौँ भन्ने लाग्यो । विकासप्रतिको हाम्रो बुझाई र अवधारणा प्रष्ट छैन रहेछ भन्ने लाग्यो ।’

उनले पर्यटनको अनन्तः सम्भावना रहेको बताए । उनले पर्यटनमा ‘सिजन’को कुरा हुने भएपनि इलाम हरेक सिजन पर्यटकलाई स्वागत गर्न तयार रहेको उल्लेख गरे । उनले अर्थमन्त्रीलाई इलाम घुम्न पनि अनुरोध गरे ।

‘इलाम यस्तो जिल्ला हो, हरेक सिजन पर्यटकलाई स्वागत गर्न तयार छ । यो बजेटपछि मान्य पर्यटन मन्त्रीज्यूलाई इलामेली जनताको तर्फबाट अनुरोध छ, ‘केही गरेर साता समय मिलाउनुहोस् न, एक पटक इलाम घुम्न जाऔं’, उनले भने ।

त्यस्तै, उनले बजेटले अन्य क्षेत्रका पर्यटनलगायत सम्भावनालाई उजागार गर्ने कार्यक्रम पनि नसमेटेको टिप्पणी गरे । उनले सोलुखुम्बुलगायत जिल्लाको उदाहरण दिँदै यस्तो बताए ।

त्यस्तै, आफूले पर्यटन एउटा क्षेत्र उदाहरण दिएको तर समस्या सबै मन्त्रालयमा रहेको उनले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर