१० जेठ । रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको छ। मंगलबार राति सम्पन्न पहिलो एलिमिनेटर राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुँदै बेंग्लोर प्रतियोगिताबाट बाहिरिएको हो।
जितसँगै राजस्थानले फाइनल प्रवेशका लागि अब उसले सनराइजर्स हैदरावादको सामना गर्नेछ। हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो।
यो खेल २४ मेमा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुनेछ। यस खेलको विजेताले २६ मेमा हुने फाइनलमा कोलकाताको सामना गर्नेछ।
बेंग्लोरले दिएको १७३ रनको लक्ष्य पछ्याएको रजस्थानले १९ ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनायो।
राजस्थानका ओपनर यशस्वी जयसवालले सर्वाधिक ४५ रन बनाए। ३० बल खेलेका उनले ८ चौका प्रहार गरे। रियान पराग ३६, शिमरन हेटमायर २६, टोम कोहलर २० र कप्तान सञ्जु सामसन १७ रनमा आउट हुँदा रोवन पावेल १६ रनमा अविजित रहे।
बेंग्लोरका मोहम्मद सिराजले सर्वाधिक २ विकेट लिए। लोकी फर्ग्युसन, कर्ण शर्मा र क्यारुन ग्रिनको नाममा १/१ विकेट रह्यो।
त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन बनाएको थियो।
बेंग्लोरका रजत पाटीदारले सर्वाधिक ३४ रन बनाए। २२ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे। विराट कोहली ३३, महिपाल लोमरोर ३२, क्यारुन ग्रिन २७ र फाफ डुप्लेसी १७ रनमा आउट हुँदा स्वप्रिल सिंह ९ रनमा अविजित रहे।
राजस्थानका आवेश खानले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ४४ रन खर्चिए। रविचन्द्र आश्विनले २ विकेट लिँदा ट्रेन्ट बोल्ड, सन्दीप शर्मा र युजवेन्द्र चहलको नाममा १/१ विकेट रह्यो।