म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

 

८ जेठ । म्यानचेस्टर सिटीले लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो ।

इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड टाउन, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र सिटी सहित ५ टोलीले लगातार ३ पटक इंग्लिश शीर्ष डिभिजनको उपाधि उचालेका थिए । तर लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको यो इतिहासमा पहिलो पटक हो ।

अन्तिम खेल अघि सिटी आर्सनलभन्दा सिटी २ अंकले अघि थियो । सिटीले लिग उपाधि गुमाउन जित बाहेकको नतिजा ल्याउँदै आर्सनलले आफ्नो खेल जित्नु पर्ने थियो । तर सिटी भने चुकेन । आर्सनललिए भने एभर्टन विरुद्ध २-१ को जित निकालेपनि उपाधिका लागि पर्याप्त भएन ।

खेलको दोस्रो मिनेटमा नै फोडेनले उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । बक्सको बाहिरबाट टप कर्नरमा शक्तिशाली प्रहार गर्दै फोडेनले सिटीलाई खेलमा अग्रता दिलाए ।

१८औं मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर बनाए । जेरेमी डोकुको क्रसमा बक्स भित्रबाट फिनिश गर्दै फोडेनले सिटीलाई दुई गोलले अगाडि पुर्याए ।

४२औं मिनेटमा वेस्ट ह्यामले एक गोल फर्कायो । मोहम्मद कुडुसले उत्कृष्ट बाइसाइकल गोल गर्दै खेलमा वेस्ट ह्यामलाई खेलमा फर्काएका थिए।

तर ५९औं मिनेटमा सिटीले पुनः अग्रता लियो । रोड्रीले बक्स बाहिरबाट सुन्दर फिनिश सहित गोल गर्दै सिटीलाई पुनः दुई गोलले अघि गराए । खेल अन्त्यमा सोही नतिजामा सकियो ।

उता आर्सनल भने ४०औं मिनेटमा एभर्टन विरुद्ध पछि परेको थियो । इडरिसा गामा गेयले सोझै फ्रिकिक मार्फत गोल गर्दै आर्सनल विरुद्ध अग्रता दिलाएका थिए । तर त्यसको तीन मिनेट पश्चात आर्सनलका ताकेहिरो टोमियासुले बराबरी गोल गरेका थिए । खेलको ८९औं मिनेटमा काई हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाएपनि त्यो उपाधिका लागि पर्याप्त हुन सकेन ।

सिटीले ३८ खेलमा २८ जित, ७ बराबरी र ३ हारसहित ९१ अंक बटुल्यो । आर्सनलले भने ३८ खेलमा २८ जित, ५ बराबरी र ५ हार सहित ८९ अंकमा दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।

गत सिजन सिटीले उपाधि जित्दा आर्सनल ६ अंकले पछि पर्दै दोस्रो नै भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर