७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ ।
योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ ।
अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो। अधिकांश नेपाली ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे। नेपालले केवल एक सय २० रनको लक्ष्य दियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन जोडेको थियो।
यूएईले १७।२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। ओपनर एलिसान सराफुले सर्वाधिक ५५ रन बनाए। विष्णु सुकुमारनले २८, आसिफ खानले १० र सेयद हैदरले १४ रन बनाए। १२ रन जोड्दा पहिलो विकेट गुमाएको यूएईले दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो।
गुल्सन झाले २ तथा ललित नारायण राजवंशी र सोमपाल कामीले एक एक विकेट लिए। प्रतियोगिताको विजेता एसिया कपका लागि छनोट हुने छ।
नेपालले गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको थियो। यस पटक नेपालले समूहगत चरणका सबै ४ खेल जितेर विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो।