१५ चैत, काठमाडौं । नेपाल र भारतबीच विद्युत आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो ।
सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत आयात गर्न पाइने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने जानकारी उनले दिए ।
अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत आयात गर्न पाउने व्यवस्था छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता तीन महिनाका लागिमात्र नवीकरण गरेको भारतले विद्युत परिमाण पनि घटाएको छ ।
असारपछि नेपालसँग पर्याप्त विद्युत हुने र निर्यात समेत सुरु हुने भएकाले यो सिजनलाई आपूर्तिमा समस्या नहुने ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए । भारतबाट ५५४ मेगावाट विद्युत आयात गर्दा पनि नेपालको माग धान्न सकिने उनले बताए ।