३० फागुन । यस वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिक पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्र्याट्स पार्टीका तथा वर्तमान राष्ट्रपति जो बाइडेनबीच हुने भएको छ ।
राष्ट्रपतिको उमेदवार बन्न बाइडेन र ट्रम्पले जति डेलीगेटको आवश्यकता थियो त्यो प्राप्त गरेका छन् । यसैकारण अब दुवै नेता आ–आफ्नो पार्टीबाट राष्ट्रपतिको उमेदवार बन्नेछन् ।
मंगलबार चार राज्य, एक अमेरिकन टेरेटरी र विदेशमा रहेका डेमोक्र्याट्सको लागि प्राइमरी निर्वाचन गरिएको थियो । निर्वाचनको नतिजाले आगामी राष्ट्रपति निर्वाचन सन् २०२० कै दुई उमेदवारबीच हुने पक्का भएको छ ।
सन् २०२० को राष्ट्रपति निर्वाचनमा ट्रम्प र बाइडेनबीच नै प्रतिस्पर्धा भएको थियो । यस वर्ष हुने राष्ट्रपति निर्वाचनमा पनि यी दुवै आमनेसामने हुने भएका छन् । दुवै पार्टीले आफ्नो आधिकारिक उमेदवारको रूपमा ट्रम्प र बाइडेनको नाम घोषणा गर्न भने बाँकी छ ।
बाइडेनले आफ्नो अभियानका क्रममा भनेका छन्, “मलाई विश्वास छ अमेरिकी जनता भविष्यलाई अगाडि बढाउने विकल्पलाई रोज्नेछन् ।”
बाइडेनलाई यसपटक आफ्नो पार्टीभित्र कडा चुनौती दिने कोही थिएन । यस्तो अवस्थामा उनी राष्ट्रपतिको उमेदवार बन्ने निश्चित जस्तै थियो । तर, ट्रम्पले भने पार्टीभित्रबाट कडा चुनौतीको सामना गर्नुपर्यो । चुनौतीका बाबजुद उनी रिपब्लिकन पार्टीभित्र सबैभन्दा लोकप्रिय उमेदवारको रूपमा देखिए । उनलाई चुनौती दिइरहेकी निकी हेलीले केही दिनअघि मात्र उमेदवारी फिर्ता लिएकी थिइन् ।
अमेरिकी राजनीतिमा राष्ट्रपतिको निर्वाचनमा उमेदवारी दाबी पेस गर्न पार्टीभित्र निर्वाचन हुनेगर्छ । यस्तो निर्वाचनमा पार्टीका उमेदवारले बढी समर्थन पाउन जरुरी हुन्छ । यो दौड जितेपछि राष्ट्रपतिको उमेदवार को बन्ने भन्ने तय हुन्छ । यही दौड जितेर ट्रम्प र बाइडेन राष्ट्रपति निर्वाचनमा उमेदवार बनेका हुन्