२९ फागुन । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ ।
हङकङमा जारी टी-२० सिरिज अन्तर्गत नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।
जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो ।
पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए ।
नेपालका कुशल भुर्तेलले १२ रन खर्चेर ४ विकेट लिए। प्रतिश जिसीले २ तथा आकाश चन्द र गुलशन झाले १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो। नेपालका कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे।
कुशलले ३९ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५९ रन बनाए। सन्दीपले २१ बलमा आफ्नो दोस्रो टी२०आई अर्धशतक पूरा गरे। उनले २६ बलमा उनले ३ चौका र ४ छक्काको मद्दतमा ५६ रन जोडे।
विनोद भण्डारीले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए। लोकेश बमले ६ बलमा २ छक्कासहित १४ रन जोडे। विवेक यादव ४ बलमा ३ छक्काको मद्दतमा १९ रनमा नटआउट रहे। गुलशन झाले १२ बलमा १ छक्कासहित १५ रन बनाए।
पीएनजीका असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १–१ विकेट लिए।