विश्वकप लिग-२ : नामिबियाविरुद्ध नेपाल १६९ रनमै अलआउट

विश्वकप लिग-२ : नामिबियाविरुद्ध नेपाल १६९ रनमै अलआउट

९ फागुन, काठमाडौं । ओपनर आशिफ शेखको अर्धशतकको सहयोगमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ ।

टियु मैदान कीर्तिपुरमा जारी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुँदै १६८ रन बनायो ।

नेपालका लागि ओपनर आशिफ शेखले ६४ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । ५८ रन बनाउँदै आशिफ बेर्नाड स्कोट्जेको बलमा आउट भएका थिए । नेपालबाट ४८ औं ओडिआई खेलमा शेखले १२ औं अर्धशतक पूरा गरेका हुन् ।

आशिफले ५५ बलमा ८ चौका र १ छक्का सहित कीर्तिमानी अर्धशतक पूरा गरेका छन् । नेपालबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । दोस्रो स्थानमा कप्तान रोहितकुमार पौडेल ९ अर्धशतकका साथ रहेका छन् । चौथो विकेटका लागि आसिफ र मल्लले ५७ रनको साझेदारी गरेका थिए ।

कुशल मल्लले ५२ बलमा ३६ रन बनाए । छैटौं विकेटका रुपमा आउट हुनुअघि मल्लले १ चौका र ३ छक्का प्रहार गरेका थिए । २७ औं ओभरको तेस्रो बलमा कप्तान ग्रेहार्ड इरास्मसको बलमा मल्ल आउट भए ।

भीम सार्कीले ३६ बलमा २६ रन बनाए । भीम ३५ ओभरको अन्तिम बलमा बेर्नाड स्कोट्जेको बलमा आउट भएका थिए ।

नेपालले पहिलो विकेटका रुपमा नेपालले सातौ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी बेर्नाड स्कोट्जेको बलमा १८ रन बनाउँदै आउट भएका थिए । एलबीडब्लु धरापमा परेका भुर्तेलले १६ बल खेलेका थिए ।

भुर्तेल आउट भएसँगै क्रिजमा उत्रिएका अनिलकुमार शाह शून्य रनमा नै आउट भए । उनले २ बलको सामना गरेका थिए । नेपालले तेस्रो विकेटका रुपमा आठौं ओभरको अन्तिम बलमा ज्याक ब्राससेलको बलमा आउट भए । शून्य रनमा आउट भएका खनाल विकेटकिपर जान ग्रिनको हातबाट क्याच आउट भएका थिए ।

पाँचौ विकेटका रुपमा कप्तान रोहितकुमार पौडेललाई नेपालले शून्य रनमा गुमायो । ९ बलको सामना गरेका पौडेल ओडिआई करियरमा पाँचौ पटक शून्य रनमा आउट भएका हुन् । कप्तान पौडेल जान निकोलको बलमा आउट भएका थिए ।

सातौं विकेटका रुपमा नेपालले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई गुमायो । दीपेन्द्र जान निकोलको बलमा स्टम्पिङ आउट भएका थिए । दीपेन्द्रले १८ बलमा ६ रन बनाए । सोही ओभरमा नै सोमपाल कामी पनि आउट भए ।

विश्वकप लिग टू को यस सिरिजको पहिलो खेलमा नामिबियासँग खेलेको नेपाल यस खेलमा पराजित भएको थियो । नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर