१४औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगिता माङसेबुङमा हुने

१४औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगिता माङसेबुङमा हुने

९ फागुन, इलाम । इलाममा १४औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना हुने यस संस्करणको प्रतियोगिता माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा सञ्चालन गर्ने समितिले जनाएको हो ।
सोमवार सदरमुकाम इलाममा प्रत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको छ ।

प्रतियोगिताका लागि खेलमैदान मर्मत, मञ्च व्यवस्थापन, होटल व्यवस्थापन, खानेपानी व्यवस्थापन तथा प्रचारप्रसार सबै तयारी तीव्र पारिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताए ।
‘राष्ट्रपति रनिङ शिल्ड विद्यालयमा खेलाडी उत्पादन गर्ने प्रतियोगता हो । आज उत्पादन भएका खेलाडी नै भोली देशको खेल क्षेत्रको भविष्य हो’ अध्यक्ष बाँस्तोलाले भने ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्लाको मात्र नभएर समग्र देशको खेलकुदको भविष्य हो । यसलाई सफल पार्न तयारी तीव्र पारेका छौं ।’

प्रतियोगिता फागुन १२ देखि १४ गते ३ दिनसम्म चल्नेछ । प्रतियोगितामा उपस्थित हुने खेलाडी र व्यवस्थापन टिमका सदस्यहरुलाई स्थानीय चिसोपानी पञ्चमी बजार र रक्से बजारमा व्यवस्थापन गरिने भएको छ ।
प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत १८ वर्ष सम्मका विद्यार्थीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट सञ्चालन हुनेछन् । एथलेटिक्स अन्तरगत दौड, उफ्रने र फ्याँक्ने तथा मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसु खेल सञ्चालन हुनेछन् ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने विधार्थी खेलाडीहरु नै प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने अध्यक्ष बाँस्तोलाले बताए । प्रतियोगितामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनौट भएका छात्र र छात्रा खेलाडीहरुको सहभागिता रहनेछ ।
‘केही वर्षअघिसम्म विद्यालय आफैं जिल्लास्तरको प्रतियोगितामा सहभागी हुन्थे भने विजेता पनि विद्यालयलाई नै घोषणा गरिन्थ्यो,’ अध्यक्ष बाँस्तोलाले भने, ‘पोहोरदेखि चाहिँ पालिकाका सबै विद्यार्थीको समग्र नतिजाका आधारमा पालिकालाई नै विजेता र उपविजेता घोषणा गर्ने गरिएको छ । मार्सल आर्ट र एथलेटिक्सका खेलाडीलाई ट्रफी प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा सम्पूर्ण खेलको नतिजा एकीकृत गरी पालिकाहरु विजेता र उपविजेता घोषित हुनेछन् । विजेताले शिल्ड, नगद पुरस्कार र प्रमाणपत्र तथा उपविजेताले ट्रफी, नगद पुरस्कार र प्रमाणपत्र पाउनेछन् ।
विगतमा इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता गत वर्षदेखि सदरमुकाम बाहिर सञ्चालन गर्न थालेको हो । गत वर्ष फाकफोकथुम गाउँपालिकामा प्रतियोगिता सञ्चालन भएको थियो । जिल्लास्तरीय खेलकुद प्रतियोगितालाई विकेन्द्रीकरण गर्ने लक्ष्यका साथ सदरमुकाम बाहिर लैजाने निर्णय गरिएको जिल्ला खेलकुद विकास समितिले जानकारी दिए । समितिका अनुसार प्रतियोगिता प्रत्येक वर्ष फरक-फरक पालिकामा सञ्चालन गर्ने सहमति भएको छ ।
गत वर्षको प्रतियोगितामा इलाम नगरपालिकाले सिल्ड जितेको थियो भने चुलाचुली गाउँपालिका दोस्रो र सूर्योदय नगरपालिका तेस्रो भएका थिए।

प्रतिक्रिया:

सम्बन्धित खवर