प्रथम सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुललाई

प्रथम सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुललाई

९ फागुन, कीर्तिपुर । कीर्तिपुर नगरपलिका–४ स्थित नेपाल एपीएफ स्कुलको १९औं स्थापना दिवसका अवसरमा सञ्चालित प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि काभ्रेको साँगास्थित नेपाल पुलिस स्कुलले जितेको छ ।

मंगलबार सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपीएफ स्कुलको क टिमलाई सडेन डेथमा स्तब्ध बनाउँदै पुलिसले उपाधि उचालेको हो । उपाधिसँगै पुलिस स्कुलले नगद ३० हजार रुपैयाँ, ट्रफी तथा रनिङ शिल्ड प्राप्त गर्याे । दोश्रो बनेको एपीएफले २० हजार रुपैयाँ प्राप्त गर्याे ।

प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित ६० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

पहिलो पेनाल्टी सुटआउटमा दुवै टोलीले ४–४ गोल गरेपछि सडनडेथको दोस्रो पेनाल्टीमा पुलिस स्कुल ६–५ ले विजयी भयो ।

खेलको म्यानअफ दि म्याच पुलिस स्कुलका गोलरक्षक दिप्सन परियार घोषित भए । उनले खेलको निर्धारित समयमा एपीएफका केही राम्रा अवसरलाई गोल हुनबाट जोगाएका थिए । व्यक्तिगत विधातर्फ दिप्सनले उत्कृष्ठ गोलरक्षकको उपाधिमा समेत बाजी मारे ।

यसैगरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीमा नेपाल एपीएफ स्कुल कीर्तिपुरका तेन्जिङ्ग शेर्पा, सर्वाधिक गोलकर्तामा सैनिक आवासीय महाविद्यालयका डिग विजय शाही घोषित हुँदा अनुशासित टोलीको उपाधि सैनिक आवासीय महाविद्यालय सल्लाघारीले प्राप्त गर्याे ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडी र प्रतियोगितामा सहभागी विद्यालयका प्रनिनिधिहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल अघि विद्यालयका विद्यार्थीहरुले मार्च पास, कराँते र तेक्वान्दो खेलमा कला प्रदर्शन, मास पि.टी. तथा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

माघ २२ गतेबाट सुरु भएको प्रतियोगितामा काठमााडौं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर