२१ माघ, काठमाण्डौँ । आज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस “क्लोज द केयर ग्याप” भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । यस दिन क्यान्सरबाट जोगिन अपनाउनुपर्ने पूर्वसजगता र लागिसकेपछि गर्नुपर्ने उपचारबारे चेतनामुलक कार्यक्रम गरी मनाइन्छ ।
विश्व क्यान्सर दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (ईएआरसी–डब्ल्यूएचओ)’ ले फेब्रुअरी १ मा सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टअनुसार विश्वभर २० मिलियन (२ करोड) नयाँ क्यान्सरका बिरामी पत्ता लागेका छन् भने ९.७ मिलियन मानिसहरुको मृत्यु क्यान्सरबाट भएको पाइएको छ ।
विश्व स्वास्थ्य संगठन, फ्रान्समा कार्यरत नेपाली वैज्ञानिक डा. दिपेन्द्र सिंहका अनुसार क्यान्सर निदान भएका व्यक्तिहरुको संख्या विश्वमा विगत ५ वर्षभित्र करिब ५३.५ मिलियन थियो । क्यान्सर लागेकामध्ये हरेक ९ जनामा १ जना पुरुष र १२ जनामा १ जना महिलाको मृत्यु भएको पाइएको छ ।
नेपालमा भने सन् २०२२ मा अनुमानित २१ हजार ७६६ क्यान्सरका विरामी रहेका तथा १४ हजार ६०० जना क्यान्सरले गर्दा मृत्यु भएको पाइएको डा. सिंहले बताए । उनका अनुसार हरेक १ लाख नेपालीमध्ये ८१ जनामा क्यान्सर निदान भएको र क्यान्सर निदान भएकामध्ये ५५ जनाको मृत्यु भएको पाइएको छ ।
नेपालमा हाल रहेका करिब २२ हजार क्यान्सर रोगीहरुको संख्या सन् २०५० सम्ममा ९१ प्रतिशतले बढ्ने अनुमान समेत गरिएको छ । ‘सन् २०५० सम्ममा नेपालमा क्यान्सर रोगीहरु ९१ प्रतिशतले वृद्धि हुँदै करिब ४२ हजार हुनेछन्,’ डा. सिंह भन्छन्, ‘रिपोर्ट अनुसार क्यान्सर निदान भएकामध्ये ९९ प्रतिशतमा क्यान्सरको मृत्युदर बढ्ने अनुमान गरिएको छ । मृत्युदर पुरुषमा १०८ प्रतिशत र महिला ९० प्रतिशत हुनेछ ।’
यो अनुमान जनसंख्या वृद्धिको अनुपातको आधारमा गरिएको बताउँदै उनले भने, ‘यद्यपि क्यान्सर गराउने सामाजिक जोखिम तत्वहरुलाई आधार मान्दा २०५० सम्ममा अनुमान गरिएभन्दा क्यान्सर रोगीको संख्या अझै धेरै हुनसक्छ ।’
क्यान्सर पत्ता लागेका पुरूषभन्दा महिला धेरै
नेपालमा क्यान्सरका मुख्य प्रकारहरुमा फोक्सोको क्यान्सर, स्तनको क्यान्सर र पाठेघरको मुखको क्यान्सर रहेका छन् । साथै नेपालमा मृत्यु गराउने प्रमुख क्यान्सरहरुमा फोक्सोको क्यान्सर, पेटको क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर रहेका छन् ।
पुरुषमा मात्र धेरै निदान भएको क्यान्सरका प्रकारहरुमा पेट, ठूलो आन्द्रा र कलेजोको क्यान्सर मुख्य छन् । यसैगरी महिलामा मात्र धेरै निदान भएको क्यान्सरका प्रकारहरुमा स्तन, पाठेघरको मुखको क्यान्सर र ठूलो आन्द्राको क्यान्सर मुख्य छन् ।
क्यान्सरबाट हुने कुल मृत्युमा फोक्सोको क्यान्सर सबैभन्दा धेरै १८.७ प्रतिशत रहेको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख छ ।
यसैगरी ठूलो आन्द्राको क्यान्सरबाट ९.३ प्रतिशत, कलेजोको क्यान्सरबाट ७.८ प्रतिशत, स्तन क्यान्सरबाट ६.९ प्रतिशत र पेटको क्यान्सरबाट ६.८ प्रतिशतको ज्यान जाने गरेको छ । एसियामा फोक्सोको क्यान्सरको मुख्य कारण सुर्तिजन्य पदार्थको सेवन जिम्मेवार छ ।
विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार फोक्सोको क्यान्सरको भार महिला पुरुष दुवैमा धेरै देखिएको डब्ल्यूएचओका रिसर्च फेलो एवम् जनस्वास्थ्य अनुसन्धानविज्ञ डा. कमल रानाभाट बताउँछन् । ‘नेपालमा क्यान्सर रोग पत्ता लागेका पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । पुरुषको संख्या ९ हजार ६८४ र महिलाको संख्या १२ हजार ८२ छ । यद्यपि मृत्युदर भने महिला र पुरुष दुवैमा लगभग बराबर छ,’ डा. रानाभाट भन्छन् ।
नेपालमा क्यान्सर रोगको दर डरलाग्दो ः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल, विश्व स्वास्थ्य संगठनको क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय एजेन्सी आईएआरसीको रिपोर्टलाई आधार मान्दा नेपालमा क्यान्सर रोगको बढ्दो दर डरलाग्दो देखिएको बताउँछन् । ‘हामी जस्तो सानो मुलुकलाई यो हिसाबले क्यान्सर रोगको दर बढ्दै जानु आर्थिक हिसाबले, सामाजिक हिसाबले डरलाग्दो र चिन्ताको विषय हो,’ उनले भने ।
क्यान्सरविरद्ध लड्न मन्त्रालयले रणनीतिक योजना बनाउँदै, पूर्वतयारीका काम थालेको उनले बताए । ‘क्यान्सर कन्ट्रोल स्ट्राटेजी बनाउँदै छौं । त्यही रणनीति अनुसार स्क्रिनिङको काम भइरहेको छ भने सन् २०२४ मै किशोरीहरुलाई खोप लगाउने तयारी पनि गरिएको छ ।’
नास्ट विज्ञान तथा प्रविधि प्रवद्र्धन राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित जनस्वास्थ्य विज्ञ डा. रानाभाट शीघ्र बढ्दै गएको क्यान्सर रोगको नयाँ दर र समग्र भारलाई घटाउन क्यान्सरको शीघ्र निदान, सुर्तीजन्य सेवनको नियन्त्रण, समुदायमा लक्षित क्यान्सर सचेतनाका कार्यक्रमहरु, स्वास्थ्य पूर्वाधारको विकास लगायतमा सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्ने बताउँछन् ।
‘नेपालमा क्यान्सरको समग्र भार र नयाँ दर घटाउन समग्र जनस्वाथ्यका प्रतिकारात्मक विधि, शीघ्र निदान, उपचार सेवा, तिनै तहका सरकारबीच बहुपक्षीय समन्वय गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘साथै समुदायमा आधारित क्यान्सर सम्बन्धी अध्ययन अनुसन्धानलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता छ ।’
प्रा.डा. विवेक आचार्यका अनुसार क्यान्सर कसलाई हुन्छ भनेर ठ्याक्कै भन्न सकिँदैन । बालबालिका, युवा र ज्येष्ठ नागरिकहरु पनि क्यान्सरबाट पीडित छन् । उमेर र लिंगअनुसार क्यान्सरको प्रकार फरक फरक छ ।
चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नाक, कान, घाँटी रोग विभागका प्रमुख डा. देजकुमार गौतमले पहिला पहिला ५०र६० वर्ष कटेका व्यक्तिलाई देखिने गरेको नाक, कान, घाँटीको क्यान्सर अहिले २२ वर्षदेखिकै युवाहरुमा पनि देखिएको छ ।
क्यान्सर रोग लाग्नुका विभिन्न कारणहरु छन् । तीमध्ये सुर्तीजन्य पदार्थको सेवन, धूमपान र मध्यपान, अव्यवस्थित जीवनशैली तथा खानपान र वंशाणुगत छन् ।
विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘सुर्ति, मदिरा, मोटोपन र वायु प्रदूषण पनि क्यान्सर जोखिमको कारण हो । यसको समाधान भएमा मानिसलाई क्यान्सरबाट बचाउन मद्दत मिल्ने छ ।’