हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी नेपाली सेना

हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी नेपाली सेना


१६ माघ, हेटौडा । नेपाली सेनाले हाल बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी थालेको छ । २३ वर्षअघि बन्द भएको २३६ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग ४८ वर्षअघि स्थापना भएको थियो । तर, राजनीतिक, कमजोर प्रशासनिक र फितलो व्यवस्थापनको सिकार बनेको उद्योग पुनः सञ्चालनको आशा पलाएको स्थानियले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा कपडा उद्योगसहित बन्द रहेका उद्योगहरु पुनः सञ्चालन गर्न छलफल गर्दै आएका छन् । सोहीअनुसार प्रधानमन्त्री कार्यालयमा बुधवार ११ बजे सरोकारवालाको संयुक्त बैठक डाकिएको छ । बैठकमा उद्योग मन्त्री, उद्योग सचिव, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड लगायतलाई निम्तो दिइएको छ ।

उद्योग सञ्चालनको घोषणा सरकारले पटक–पटक गर्दै आइरहेको थियो र छ । तर, पुरानो प्रविधिमा जडान भएका मेसिनरी सामाग्रीबाटै उत्पादन थाल्न असम्भव प्रायः देखिएपछि सबै निकाय पछि हट्दै आइरहेका छन् । गत आर्थिक वर्षको बजेटमा पनि सरकारले हेटौँडा कपडा उद्योग चलाउने भन्दै बजेट विनियोजन गरेको थियो ।

यस्तै, सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याएर उत्पादित कपडाबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बर्दी उत्पादन गर्ने घोषणा समेत गरेको थियो । तर, सरकारद्वारा विनियोजित बजेटबाट उद्योग पुनः सञ्चालन नहुने देखेपछि सबै निकाय पछि हट्दै आएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्त बताउँछन् ।
उद्योगबाट उत्पादित कपडा सेनाले प्रयोग गर्ने घोषणा भएपछि उसको नै उद्योगमा ध्यान गयो । यसका लागि नेपाली सेनाले विभिन्न निकायसँग कयौँ पटक छलफल समेत गरिसेको छ । जसअनुसार एक महिनाअघि रक्षा मन्त्रालय मातहतबाट औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग समेत बैठक बसेको थियो ।

नेपाली सेनाले उद्योग चलाउने योजनासहित स्थलगत अध्ययन समेत गरिसकेको छ । अध्ययनबाट सेनाले पुरानो प्रविधिको दुई दशकभन्दा धेरै समयदेखि नचलेको मेसिनरीबाट उद्योग सञ्चालन गर्न कठिनाइ हुने निष्कर्ष निकालेको छ । यसका लागि सेनाले नयाँ मेसिन किन्ने र त्यसका लागि ३ अर्ब रुपैयाँ सम्मको लागत अनुमान गरिसकेको बताइन्छ ।

उत्पादनमूलक उद्योगमा लगानी गर्ने सेनाको योजनाले मूर्तरूप पाएमा देशको समग्र अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । हाल बर्सेनि अर्बाैँ रुपैयाँको कपडा विदेशबाट आयात हुँदै आएको अवस्थामा नेपाली सेनाको नेतृत्वमा हेटौँडा उद्योग पुनः सञ्चालनमा आएमा विदेशबाट आयात हुने कपडाको मात्रा समेत घट्ने विश्वास लिइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तररुपमा वर्षाैँदेखि बन्द अवस्थामा रहेका रुग्ण उद्योग सञ्चालनका लागि निरन्तर छलफल गरिरहेका छन् । आइतबार मात्रै उनले उद्योग मन्त्रीसहितको टोलीलाई बोलाएर छिटो मन्त्रीपरिषद्मा रुग्ण उद्योग चलाउने खाका प्रस्ताव गर्न भनेका थिए ।

प्रधानमन्त्रीले रुग्ण उद्योग चलाउने सम्बन्धी अध्ययन प्रतिवेदन एक सातामा पेस गर्न भनेसँगै यतिबेला उद्योग मन्त्रालय खाकालाई अन्तिमरुप दिनतर्फ लागेको उद्योग सचिव मुकुन्द निरौला बताउँछन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर