कोशी प्रदेशका ८० प्रतिशत जमिन अम्लियपनयुक्त

कोशी प्रदेशका ८० प्रतिशत जमिन अम्लियपनयुक्त

१० माघ, विराटनगर । किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लियपन बढ्दै गएको छ । कोशी प्रदेशमा ८० प्रतिशत अम्लियपनयुक्त माटो रहेको कोशी प्रदेशस्थित माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय झुम्का सुनसरीले जनाएको छ ।

किसानले अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गरेकाले माटोले उत्पादकत्व गुमाउँंदै गएको कार्यालयका प्रमुख विगम्बर यादवले जानकारी दिए । “प्रदेशका विभिन्न ठाउँमा नमुना जाँच गरिएको धेरैजसो माटोमा ८० प्रतिशत अम्लियपन फेला परेको छ । दशवर्ष अघिभन्दा अहिले झण्डै २५ प्रतिशत हाराहारीमा अम्लियपन बढेको छ” उनले भने ।

मोरङ बेलबारी नगरपालिकाको सहजीकरण तथा प्रयोगशालाको आयोजनामा बेलबारीस्थित घुम्ती प्रयोगशालामार्फत माटो परीक्षण शिविरमा स्थानीय ५६ किसानको सहभागिता थियो ।

उक्त शिविरमा किसानद्वारा परीक्षणका लागि ल्याइएका माटोको अम्लिय, क्षारीय, नाईट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ र माटोको भूवनोट जाँच गरिएको प्रमुख यादवले जानकारी दिए । उनका अनुसार समग्र प्रदेशभरीको माटोमा प्राङ्गारिक मलको मात्रा निकै कम देखिएको छ  । माटोमा नाईट्रोजन ५६, फस्फोरस ६२ र पोटास ७४ प्रतिशतले कमी देखिएको छ । यो खेतीयोग्य जमिनका लागि उपयुक्त नभएको उनले भने ।

अम्लियपन माटोमा प्रत्येक वर्ष बढ्दै गएको छ । बर्सेनि रासायनिक मलको प्रयोग बढ्दै जानु र प्राङ्गारिक मलको प्रयोग घट्नु, बाली सघनता बढ्नु र बाली चक्र नअपनाउनाले माटोको उर्वरा शक्ति घट्दै गएको प्रमुख यादवको भनाइ थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर