६ माघ, इलाम । इलाममा आजबाट सुरु भएको प्रथम इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ ।
इलाम सदरमुकाम स्थित ठूलो टुडीखेलमा आज भएको खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक सेमीफाइनल प्रवेश गरेको हो । राष्ट्रिय टोलिका पूर्व कप्तान नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको आयोजकका लागि श्रेष्ठले ह्याट्रिक गरेका थिए भने उत्सव राईले एक गोल गरेका थिए ।
आयोजकका लागि श्रेष्ठले ५५, ६५ र ८२ मिनेटमा गोल गरे । १३ औं मिनेटमा उत्सव राईले पहिलो गोल गरेका थिए ।
उता पाहुना टोली मानेभञ्ज्याङले केही अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न नसक्दा पहिलो चरणबाटै बाहिरिनपर्यो ।
खेलको म्यान अफ द म्याच विजेता रेडहर्षका कप्तान नवयुग श्रेष्ठ घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।
भोलि (आइतबार) दोस्रो क्वाटरफाइनलमा राष्ट्रिय जागृति क्लब इटहरी र विर्तामोड युनाइटेड झापाबीच प्रतिष्पर्धा हुनेछ ।
माघ १३ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद पाँच हजार प्रस्कार प्रदान गरिने आयोजक रेडहर्षका अध्यक्ष साङ्गे योल्मूले बताए ।
इलामको गौरबको रुपमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको गोल्डकपमा भारतको एक टिमसहित ८ टिमले सहभागीता जनाएका छन् ।