२३ पौष, काठमाडौं । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो ।
लघुचलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् ।
पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन र प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।
लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाह पश्चात श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्काे विवाह गरेको घटनाहरु समाजमा पाईन्छ, यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको छ ।
यहाँ कलाकार वा पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइदिन्छ । लघुचलचित्र ‘पाउलो’ मा पनि एउटा जीवन्त कथा र समाजको यथार्थ चित्रण रहेको छ ।