१७ पौष, काठमाण्डौँ । सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएकाहरूलाई आवेदनमा सहभागी गराउन अदालतले आदेश दियो । गत शुक्रबार उच्च अदालत पाटनले निवेदनकर्ता र इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो ।
सोही आधारमा ईपीएस कोरिया शाखाले सूचना समेत जारी गरेर आजदेखि फारम भर्नका लागि आह्वान गरेको छ । तर, अदालतको आदेशबारे रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया एचआरडी सर्भिस अफ कोरियाबाट भने कुनै जवाफ आएको छैन ।
अदालतको आदेशबारे एचआरडी कोरियालाई अदालतको आदेश आएलगत्तै मेल पठाएको तर, हालसम्म कुनै प्रतिक्रिया नआएको ईपीएस कोरिया शाखाका अधिकृत कमल श्रेष्ठले बताए ।
कोरिया शाखाले अदालतको आदेशकै आधारमा सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन आह्वान गर्दै सूचना जारी गरेको थियो । तर, एचआरडी कोरियाबाट कुनै जवाफ नआएपछि थप अन्यौल सिर्जना भएको छ ।
‘अहिले फर्ममात्रै कलेक्सन गर्ने । त्यसको कहिले जाँच हुन्छ भनेर पछि जानकारी दिन्छौँ भनेका छौँ । अदालतको आदेश अनुसार नै आवेदन माग गरेको हो । त्यसमा एचआरडी कोरियाले कुनै प्रतिक्रिया दिएको छैन,’ शाखा अधिकृत श्रेष्ठले भने ।
यसअघि उच्च अदालतले नै सुरज पाठकसहित १८ जनालाई आवेदन फारम भर्न दिन भनेर अन्तरिम आदेश जारी गरेको थियो । सोही आधारमा १८ जनाले पुस १३ गते आवेदनका लागि फारम बुझाइसकेका छन् । यस विषयमा एचआरडी कोरियाले समेत अदालतको आदेश भएपछि ‘हामी मान्छौँ’ भनेर प्रतिक्रिया दिएको थियो । सोही आधारमा उनीहरूलाई फारम भर्न लगाइएको थियो । तर, औपचारिक रूपमा पठाइएको पत्रको भने जवाफ दिएको छैन ।
ईपीएस कोरिया शाखाले ८ र २२ डिसेम्बर २०२३ मा गरी दुई पटक पत्राचार गरेको थियो । ईपीएस कोरिया शाखाले नेपालमा भइरहेको विरोध, उनीहरूले बुझाएको ज्ञापनपत्र तथा अदालतबाट आएको आदेशलाई समेटेर पत्राचार गरे पनि त्यसको जवाफ अहिलेसम्म नआएको हो ।
सिप बिल्डिङ क्षेत्रमा आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन फारम भर्न नदिएको भन्दै आन्दोलन चर्किएको थियो । आन्दोलनको क्रममा २ जनाको मृत्यु भएको थियो ।