२ पौष, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै दिन सर्वाधिक संख्यामा विद्यार्थीहरूलाई दिक्षित गरेको विश्वकिर्तिमान बनाएको छ । आज दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दिक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागीता थियो ।
त्रिविले विश्वकीर्तिमान बनाउने दाबीसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डलाई निम्त्याएको थियो । सोहीअनुसार अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) का प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वकिर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरे । त्रिवि उपकुलपति डा. शिवलाल भुसालका अनुसार ओडब्लुआर गिनिज बुककै भगिनी संस्था हो । गिनिज बुकले सबै प्रमाणहरूको अध्ययन गरेपश्चात अर्को प्रमाणपत्र दिने उनको भनाइ छ ।
‘ओडब्लूआरले अन द स्पट प्रमाणपत्र दियो । यसले भेरिफाइ गरेर पठाएपछि अर्को स्टेपमा गिनिज बुकले नै दिन्छ,’ भुसालले भने ।
ओडब्लुआरका दिल्लीस्थित प्रतिनिधि र काठमाडौंस्थित प्रतिनिधिले दीक्षान्त समारोहमा आएर प्रत्यक्ष अवलोकन गरेका थिए । उनले त्रिविको रेकर्ड, दीक्षान्तका लागि विद्यार्थीहरूले दिएको आवेदन तथा भौतिक उपस्थिति हेरेर विश्वकीर्तिमान प्रमाणित गरेको डा. भुसालले बताए ।