२१ कार्तिक, काठमाण्डौँ । अर्ना वियरले हालै टी–२० विश्वकपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई पूर्वघोषणा अनुसार नगद पुरस्कार वितरण गरेको छ । हिजो आयोजित एक समारोहमा अर्नाले कुल ४१ लाख ७६ हजार रुपैयाँ पुरस्कार हस्तान्तरण गरेको हो ।
वितरित पुरस्कारमध्ये १८ लाख ७७ हजार रूपैयाँको चेक क्रिकेट टीमका लागि कप्तान रोहित पौडेललाई हस्तान्तरण गरियो । यो रकम छनोट प्रतियोगिताका लागि घोषित राष्ट्रिय टीमका १५ सदस्यसहित २१ जनाले दामासाहीले पाउनेछन् । यसअनुसार सबैको भागमा करिब ९० हजार रूपैयाँ पर्ने भएको छ ।
१५ सदस्यीय टीममा ललित नारायण राजवंशी, प्रतिश जिसी र विनोद भण्डारीले छनोट प्रतियोगिताका कुनै पनि खेल खेल्न पाएका थिएनन् । यस्तै, दीपेन्द्रसिंह ऐरीले सेमिफाइनल खेले पनि उनले बलिङ र ब्याटिङ दुवै गरेनन् । क्याच र रनआउट पनि नगरेका उनले व्यक्तिगत विधाको पुरस्कार पाएका छैनन् । दामासाहीले मिल्ने ९० हजार रूपैयाँमा नै उनले चित्त बुझाउनुपर्ने भएको छ ।
अर्नाले प्रतियोगिताअघि खेलाडीहरूलाई उनीहरूको प्रदर्शनका आधारमा नगद पुरस्कार दिने घोषणा गरेको थियो । ब्याट्सम्यानलाई प्रत्येक रनका लागि एक हजार, चौकाका लागि १० हजार (अतिरिक्त) र छक्काका लागि २० हजार (अतिरिक्त) दिने भनिएको थियो । यस्तै, बलरलाई प्रत्येक डट बलका लागि एक हजार, मेडन ओभरका लागि १० हजार, विकेटका लागि २५ हजार नगद दिने अर्नाले घोषणा गरेको थियो । दोस्रो म्याचमा पुरस्कारको विधा थप्दै रनआउट र क्याच गर्नेलाई २५ हजार दिने घोषणा गरियो ।