२१ कार्तिक, कामाण्डौँ । नेपाली कांग्रेसले तत्काल भूकम्प पीडितलाई उद्धार, राहत र पुनस्र्थापना गर्न आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले भूकम्पका पीडितलाई उद्धार, राहत र पुनस्र्थापनामा सरकारले तत्काल काम गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।
मंगलबार बिहान बालुवाटार पुगेका उनीहरुले ५० लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तरण गरेका थिए ।
साथै संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि उपलब्ध गराउने कांग्रेसको निर्णय थियो।
भूकम्पपछिका अवस्था अवलोकन र सहजीकरणको लागि कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मा संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको थियो । सोमबार कांग्रेस नेता शेखर कोइरालाले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए ।