२६ असोज, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताए ।
कोशीको समस्या समाधान गरिएको छ र यसले गठबन्धनलाई बलियो बनाउन सहयोग हुने कुरो उनले बताएका हुन् । आज बिहान नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेता डा. शेखर कोइराला र आफूबीच सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने बताए । उनले भने ‘‘अब कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको साझा मुख्यमन्त्री हो ।”
अर्काे एक प्रश्नमा प्रधानमन्त्रीले कोशी प्रदेशमा सर्वपक्षीय सरकार बन्ने सम्भावना तत्काल नरहेको बताए । साथै आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै अर्थतन्त्रलाई बिग्रन नदिन हरसम्भव प्रयास गरिरहेको उनले बताए ।