२५ भदौ, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोशी प्रदेशको नामबारे संवादबाटै समाधान खोज्नुपर्ने बताएका छन् । समाजवादी मोर्चाले सोमबार विराटनगरमा गरेको सन्देश सभामा प्रचण्डले नामकरणलाई लिएर असन्तुष्टि सुरु भएलगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर संवाद गरेको बताए । उनले कन्फ्रन्टेसन नभएर वार्ता र संवादबाट जनताको भावनाको कदर हुने गरी समाधान खोजिुपर्ने बताए ।
संवाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिवर्तन उल्ट्याउन चाहनेहरुले फाइदा उठाउन सक्ने प्रधानमन्त्री प्रचण्डले बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरण, ललितानिवास र सुन काण्डमा सरकारले चालेको कदमबाट एकथरी मानिस आतंकित भएको बताए ।
अर्को प्रसंगमा बोल्दै प्रधानमन्त्री प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् । गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्तो विडम्बना देखिएको बताए । सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै यस्तो भाषा बोल्ने नेपाली कल्चर नभएको बताए ।
यस्ता प्रचार गर्नेहरु चाहिं राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिकति डराए जस्तो देखिएको उनले बताए । उनले अघि भने, ‘नाम त के लिनु र मैले । निरंकुशताका दलालहरु‘, जसको चरित्र गुण्डाको भन्दा फरक छैन ।’
उनीहरुमध्येकै एकले नेपाली कांग्रेसको सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको प्रधानमन्त्रीले बताए । ‘भनेपछि उनीहरुको मनोबल कस्तो रहेछ, तपाईं हामी चाहिं बडो रक्षात्मक’ उनले भने, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैर्पयो ।’
भोलि सुदूरपश्चिममा कार्यक्रम गरेसँगै सन्देश सभा सकिने भन्दै उनले लगत्तै बैठक बसेर सडकमा जाने कार्यक्रम बनाउने बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘लाखौं जनतालाई सडकमा ल्याउने हो र यी गुण्डा, प्रतिक्रान्तिकारी, दलालहरुलाई हामी जिउँदैछौं भन्ने देखाउन र्पयो । अनि मात्र हाम्रो जित हुन्छ ।’