धरानमा डेंगु संक्रमण दर केही घट्दो, हालसम्म १३ जनाको मृत्यु

धरानमा डेंगु संक्रमण दर केही घट्दो, हालसम्म १३ जनाको मृत्यु


१९ भाद्र, काठमाण्डौँ । सुनसरीको धरानमा डेंगु संक्रमण दर केही घटेपनि जोखिम भने कायमै रहेको छ । धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार धरानमा डेंगु सङ्क्रमणबाट हालसम्म १३ जनाको मृत्यु भइसकेको छ ।

जसमा सबैभन्दा धेरै वडा नम्बर ११ रहेको छ । उक्त वडामा डेंगुबाट ४ जनाको मृत्यु भएको छ । वडा नम्बर १५ र १८ मा २\२ जना र अन्य वडाहरु २, ५, १०, १६ र १७ मा १\१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना महिला र ६ जना पुरुष छन् । उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार यो तथ्याङ्क जेठ तेस्रो सातायताको हो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार भदौ १८ गते सोमबार परीक्षण भएकोमध्ये ६२ प्रतिशतमा डेंगु देखिएको छ । हिजो २०३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमध्ये १२५ जनामा डेंगु भेटिएको हो । यस्तै हालसम्म डेंगु परीक्षण २० हजार ९७० जनामा गरिएको छ । जसमध्ये झन्डै १५ हजार अर्थात १४ हजार ९८१ जनामा डेंगु देखिएको छ । यो ७१ प्रतिशत हो ।

उनले सर्च एण्ड डिस्ट्रोए अभियान जारी राखेको र विभिन्न संघसंस्थाहरुको सहयोग बढेको पनि बताए । धरानमा चार महिना अघिदेखि डेंगु संक्रमण फैलिएको थियो । गत असारदेखि संक्रमणदर ७० देखि ७२ प्रतिशत कायम छ । संक्रमण दर स्थिर रहे पनि निःशुल्क स्वास्थ्य शिविरहरूमा, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष र डेंगी अस्पतालमा उपचार गर्न जानेको सङ्ख्यामा भने केही कमी आएको जनाइएको छ ।

भदौ १ गते देखि ९ गतेसम्म डेंगु संक्रमितको सङ्ख्या दैनिक २ सय देखि २ सय ७० जना पाइएको थियो भने भदौ दोस्रो सातामा दैनिक सरदर १५० जना पोजेटिभ पाइएका छन् । पछिल्लो तीन दिनयता भने दैनिक सरदर सय जनालाई डेंगु संक्रमण हुने गरेको पाइएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार पछिल्लो समय कतिपयलाई दोर्होयाएर पनि डेंगी संक्रमण भइरहेको छ । फाट्टफुट्ट मात्र डेंगीको लार्भा मार्ने सर्च एण्ड डिस्ट्रोयको काम हुने गरेको बताइएको छ ।

भदौरे झरी र गर्मी मौसम कायमै रहेकाले अझै केही साता धरानमा डेंगु संक्रमण जारी रहने भएकाले सतर्कता अपनाउनु पर्ने र जाडोको मौसम सुरु भएपछि संक्रमण दर र संक्रमितको सङ्ख्या घट्ने जनस्वास्थ्यविदहरुले बताएका छन् । साथै संक्रमितमध्ये १–२ प्रतिशतलाई स्वास्थ्यमा जटिलता आउनसक्ने र ज्यानै जान सक्ने भएकाले दीर्घरोगी, बालबालिकाको स्वास्थ्यप्रति संवेदनशील हुन सुझाव दिएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर