२९ असार, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध हटेपछि बसेको प्रतिनिधिसभा बैठकमा मिटरब्याजसम्बन्धी विधेयकको खोजी भएको छ । शुक्रबार प्रतिनिधिसभामा आकस्मिक र शून्य समयमा बोल्ने सांसदहरुले मिटरब्याजसम्बन्धी विधेयक बैठकको कार्यसूचीबाट नै हराएको भन्दै प्रश्न गरेका हुन् ।
मिटरब्याजलाई अनुचित लेनदेन मान्ने गरी ल्याएको अध्यादेशलाई प्रतिस्थापन विधेयक २० असारभित्र पास गरिसक्नुपथ्र्याे । प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर त्यही दिन संसद अवरुद्ध भएपछि अध्यादेश निष्क्रिय भयो ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण दिएपछि संसदको अवरोध हट्यो, तर त्यो दिन अरु कार्यसूचीमा प्रवेश गरेन । त्यसपछि पहिलो पटक आज शुक्रबार बसेको बैठकको कार्यसूचीमा मिटरब्याजसम्बन्धी विधेयक परेन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याजसम्बन्धी विधेयक संसदमा किन नल्याएको भनी प्रश्न गरे ।
रास्वपाले त मिटरब्याजसम्बन्धी विधेयक अर्काे बैठकमा नल्याए सदन चल्न नदिने चेतावनी नै दिएको छ । सत्तापक्षकै केही दलले विधेयक रोक्न खोजेको भन्दै लामिछानेले आरोप लगाए ।
सत्तारुढ कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि ढिलो नगरी विधेयक ल्याउन आग्रह गरे ।
संसदको अर्काे बैठक ३१ असारमा बोलाइएको छ । त्यो दिन यो विधेयक अगाडि बढ्ने कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको विश्वास छ ।